विवाहमा नआउनेलाई खानाको बिल पठाएपछि...
धनगढीः सिकागोका एक नवविवाहित जोडी सोसल मिडियामा एकाएक चर्चामा आएका छन्। उनीहरु चर्चामा आउनुको कारण भने निकै रोचक छ। यी जोडीले आफ्नो विवाहमा सरिक नभएका आमन्त्रितलाई खानाको बिल पठाएका छन्। खानाको बिलको फोटो उनीहरुले सोसल मिडियामा पोस्ट गरेका थिए।
४४ वर्षका डो सिमोन्स, ४३ वर्षकी डेड्रा म्याकगीले जमाइकाको रोयल्टन नेग्रिल रिसोर्ट र स्पामा आयोजित भव्य विवाह पार्टीका लागि १०९ जना पाहुनालाई आमन्त्रण गरेका थिए। कतिले विवाहमा कुनै पनि हालतमा सरिक हुने पक्कापक्की गरेका थिए तर विवाहका दिन भने सरिक भएनन्। नवविवाहित जोडीलाई यो कुराले निकै रुष्ट बनायो तसर्थ अनुपस्थितहरुको खानाको बिल बनाउने निधो गरे। फेसबुकमा पोस्ट गरिएको एक बिलको नमूना अनुसार विवाहमा सरिक नभएका एकजना आमन्त्रितले १२० डलर तिर्नुपर्ने र दुईजना भएको खण्डमा २४० डलर तिर्नुपर्ने छ।
‘यहाँ तोकिएको रकम तपाईंहरुको व्यक्तिगत सीटका लागि हो। किनभने तपाईंहरुले आफ्नो अनुपस्थितिका लागि न त फोन गर्नुभयो न उचित सूचना प्रदान गर्नुभयो। यो रकम हामीले तपाईंको सीटका लागि गरेको अग्रिम भुक्तानी हो। तपाईंहरुले हामीलाई जेले र पेपालमार्फत् भुक्तानी गर्न सक्नुहुन्छ। तपाईंहरुलाई के सहज हुन्छ, त्यसका लागि हामीलाई सम्पर्क गर्नुहोला। धन्यवाद,’ उक्त बिलमा भनिएको छ। यो बिल फेसबुकमा पोस्ट गर्दै डो साइमन्सले लेखे, ‘तपाईंले यस्तो बिल पाउनु भयो भने अपमानित महसुस नगर्नुहोस्। मैले यो बिल इमेलमार्फत् पठाउनेछु।’
अडिटीसेन्ट्रल अनुुसार सानो व्यवसायका सञ्चालक साइमन्सले न्यूयोर्क टाइम्ससँगको कुराकानीमा भने, ‘हामीले चारपटक सम्म पनि सोध्यौं, ‘तपाईंहरु आउनुहुन्छ नि, आउन सक्नुहुन्छ नि ?’ उहाँहरुले आउँछौं भनिरहनु भयो। हामीले जमाइकाका लागि अग्रिम भुक्तानी गर्नुपर्यो। यो एक डेस्टिनेसन वेडिङ थियो।’
‘कसैले पनि ‘हेर हामी त आउन सक्दैनौं’ भनेर केही भनेनन्, न एउटा मेसेज नै छोडे। हामीले त्यति मात्रै चाहेका थियौं। केही नभन्ने अनि विवाहमा पनि नआउँदा, हामीले उनीहरु र उनीहरुको पार्टनरका लागि पनि भुक्तानी गर्नुपर्यो। चारजना आठजना हुन्छन्। मैले यसलाई नीजि रुपमा लिएँ।’ यो रोचक बिलले सोसल मिडियामा मानिसलाई दुई समूह बाँड्यो। कतिले उनीहरुको तारिफ गरेका छन् भने कतिले उनीहरुको आलोचना पनि गरेका छन्।साइमन्सले पछि आफ्नो फेसबुकमा यस्तै समस्यासँग जुध्ने धेरैले आफूलाई समर्थन गरेको र आफ्नो भयानक अनुभव साझा गरेको पनि जानकारी दिए।