धनगढीमा संघीय सरकारले निर्माण थालेको सडकमा विवाद
धनगढी : धनगढीमा संघीय सरकारले निर्माण थालेको सडकमा विवाद अझै समाधान भएको छैन। एशियाली विकास बैँकको ऋण सहयोगमा संघीय सरकारको क्षेत्रीय सहरी विकिास अयोजनाले निर्माण थालेको धनगढीको शहीद गेट–क्याम्पस गेट सडकको नाली नागबेली आकारले बनाउन थालिएको हो।
धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ को शहीद गेटदेखि वडा नम्बर ८ को क्याम्पस गेटसम्म ३ दशमलव ६५ किलोमिटर सडकमा विभिन्न ठाउँमा नाली बाङ्गोटिङ्गोे निर्माण हुँदैछ। स्थानीय जग्गा धनीसंगको विवादका कारण नाली बाङ्गोटिङ्गा निर्माण भएको आयोजना कार्यालयको दाबी गरिएको छ। तर स्थानीयले भने विवाद समाधानका लागि कुनै पहल नभएको बताएका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का स्थानीय मोहन हमालले मापदण्डअनुसार सडक निर्माण नभएको बताए। उनले भने, ‘जमिनको मुआब्जा दिइएको छैन। हामीले विकासका लागि जमिन दिएका हौँ। तर केही स्थानीयको घर अगाडि सडक साघुरो हुने गरी नाली निर्माण भइरहेको छ भने नाली घरहरु भन्दा उचाइमा बनाइएको छ।’
विद्यालय नजिक रहेको क्षेत्र, ट्राफिक जाम हुने चोकहरुमा समेत विवाद भएको भन्दै सडकको चौडाई नै कम हुने देखिएको उनले बताए। ‘एक वर्ष भयो सडक निर्माण सुरु भएको। तर नालीबाहेक केही काम भएको छैन, सडकमा आवतजावत गर्नै मुस्किल छ,’ उनले भने।
शहिद गेट–क्याम्पस गेट सडकका धेरै स्थानमा सडक क्षेत्राधिकारको विवाद रहेको देखिन्छ। उत्तरबेहडी चोक, तारानगर चोक, हसनपुर क्षेत्र, शिवनगर तथा क्याम्पस रोडलगायतका क्षेत्रमा सडक क्षेत्राधिकारको विवादका कारण नाली बाँगो निर्माण गर्न थालिएको छ। जसका कारण सडक समेत साँघुरो हुने देखिएको छ।
तर संघीय सरकारको क्षेत्रीय शहरी विकास आयोजना धनगढीका प्रमुख प्रविन शाहले सडकको क्षेत्राधिकार खाली गर्ने जिम्मा उपमहानगरपालिकाको भएको बताए। उनले भने, ‘नालीको विवादको बिषयमा कुनै गुनासो आधिकारीक रुपमा आएको छैन। विवाद भए पनि उपमहानगरपालिकाले समन्वय गर्ने भनिएको छ। वडाध्यक्षहरुले सहयोगसमेत गर्दै आएका छन्।’
२४ मिटर चौडाइको क्षेत्राधिकार भएको सो सडकमा १६ मिटरमा मात्र सडक संरचना निर्माण हुने भनिएको छ। तर उक्त क्षेत्र पनि खाली गराउन उपमहानगरपालिका अझै असफल देखिएको छ।
धनगढीमा निर्माणाधिन शहीद गेट–क्याम्पस गेट सडकको नाली बाङ्गोटिङ्गो !