सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा निर्माणाधिन शहीद गेट–क्याम्पस गेट सडकको नाली बाङ्गोटिङ्गो !

२०७७ चैत्र ५, ११:५८ कमल सावद

धनगढी: एशियाली विकास बैँकको ऋण सहयोगमा संघीय सरकारले निर्माण गरिरहेको धनगढीको शहीद गेट–क्याम्पस गेट सडकको नाली नागबेली आकारमा बन्दैछ।

धनगढी उप–महानगरपालिकाको वडा नम्बर ४ को शहीद गेटदेखि वडा नम्बर ८ को क्याम्पस गेटसम्म ३ दशमलव ६५ किलोमिटर सडकमा विभिन्न ठाउँमा नाली बाङ्गोटिङ्गोे बनिरहेको हो।  चलनचल्तीको सिधा सडक रहेको क्षेत्रमा समेत नाली बाङ्गोटिङ्गोे निर्माण भएको पाइएको छ।

सवारी जाम हुने चोकहरुमा सबैभन्दा बढी नाली बाङ्गो निर्माण भइरहेको देख्न सकिन्छ। सडक निर्माण हुने १६ मिटर भित्रका भौतिक संरचना समेत स्थानीयले हटाउन नमानेकाले नाली बाङ्गो भएको निर्माण कम्पनीको दाबी छ। तर सडक निर्माणको ठेक्का गरेको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वय इकाईले स्टीमेट अनुसार काम हुँदै आएको बताएको छ।

स्थानीयले सारे गाडिएका किल्ला 
स्थानीयले किल्ला सारेका कारण धनगढीको तारानगरमा नाली बाङ्गोटिङ्गो भएको निर्माण कम्पनी कालिका कस्ट्रक्सनका इन्जिनी जितेन्द्र यावदले बताए।

विद्यालय नजिक रहेको ट्राफिक जाम हुने चोक नजिकको एक परिवारका सदस्यले रातिको समयमा गाडिएको किल्ला सारेको उनले बताए। उनले भने, ‘रातिको समयमा उहाँहरुले उप–महानगरपालिकाले गाडेको किल्ला सराउनु भएको रहेछ। काम गर्दै जाँदा बाङ्गोटिङ्गो भयो। पछि सडककोे चौडाई नाप गर्दा १६ मिटर पुगेन। कारण खोज्दा उहाँहरुले गाडेको किल्ला सार्नु भएको रहेछ।’

स्थानीयले गाडिएको किल्ला सारेकाकै कारण नाली बाङ्गोटिङ्गो भएको  कालिका कन्स्ट्रक्सनका आधिकारीक व्यक्ती प्रकाश चन्द्र खरेलले बताए। उनले भने, ‘जनसंख्या धेरै भएको क्षेत्र छ। एक इन्चपनि जग्गा छोड्नेवाला छैनन्। उप–महनगरपालिकाले जग्गा छुट्याएको छ। सोहि आधारमा काम गर्दैछौ। पूर्जाका आधारमा जमिन दिएकाले पनि नाली बाँगो भएको हो।’

उक्त सडकका धेरै स्थानमा सडक क्षेत्राधिकारको विवाद रहेको देखिन्छ। १ किलोमिटर क्षेत्रमा विवाद देखिएको पाइन्छ।  

मुख्यमन्त्रीको निवास भएको उत्तरबेहडी चोक, तारानगर चोक, हसनपुर क्षेत्र, शिवनगर तथा क्याम्पस रोडलगायतका क्षेत्रमा सडकको नाली बाङ्गो हुँदैछ। २४ मिटर चौडाइ क्षेत्राधिकार भएको सो सडकमा १६ मिटरमा मात्र सडक संरचना निर्माण हुने भएपनि उक्त क्षेत्रपनि खाली नभएकाले नागबेली नाली निर्माण भएको दाबी गरिएको छ।  

यता सडक निर्माणको ठेक्का दिएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाईका सूचना अधिकारी झंक थापाले सडक संरचना निर्माण हुने क्षेत्रमा रेखांकन गरिएको बताएका छन्। ‘संरचना सबैका लागि हो। चिनेजानेका, आफन्तको आधारमा नभत्काउने भन्ने हुँदैन्। एक समस्या सल्टाउदा अर्काे समस्या आउछ। त्यस्तो गरेका छैनौ’ उनले भने। 

उनले  धनगढी उप–महानगरपालिका उदार भएकाले स्थानीयले ठाउँ दिन नमानेका कारण  नाली तथा सडक बाङ्गोटिङ्गो हुँदै आएको बताएका छन्। 

सम्बन्धित समाचार :
धनगढीको शहीद गेट–क्याम्पस रोड सडक २२ मिटर चौडा गर्न ‘होटल डिभोटी’ बाधक !
धनगढीमा ‘स्टिमेटमा त्रुटि’ भन्दै क्षेत्रीय सहरी विकास आयोजना अन्तरगतका सडकको चौडाइ घटाउने चलखेल
धनगढीका सडकको चौडाई घट्ने, मुख्य सडक २४ मिटर


 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस