सुदूर नेपाललाई विश्वसँग जोड्दै

शैया, जनशक्ती र उपकरण नथपेरै सेती अञ्चल अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय

२०७५ मंसिर १७, ०६:३६ नवराज पनेरु

संरचना, शैया, जनशक्ती र उपकरण नथपेरै सेती अञ्चल अस्पताललाई प्रादेशीक अस्पताल बनाउने निर्णय भएको छ। स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको बेला अस्पताललाई ३ सय र ५ सय शैयामा स्तरोन्नती गराउने विषयमा निकै चर्चा परिचर्चा भएपनि प्रदेशको सामाजिक विकास मन्त्रालयले भने अहिलेकै संरचना, शैया, जनशक्ति र उपकरणमा अस्पताललाई प्रादेशीक नामाकरण गर्ने निर्णय गरेको हो। मन्त्रालयले निर्णय गरेपछि स्वीकृत गराउनका लागि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई फाईल पठाईएको छ तर प्रादेशीक अस्पतालको बोर्ड लगाउनका लागि सामाजिक विकास मन्त्रालयले सेती अञ्चल अस्पताललाई निर्देशन दिईसकेको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव गोगन बहादुर हमालले बताए।

विक्रम सम्बत १९९७ सालमा जिल्ला अस्पतालका रुपमा स्थापना भएको सेती अञ्चल अस्पताल विक्रम सम्बत २०४० सालमा स्तरोन्नती गरि सेती अञ्चल अस्पताल बनाईएको थियो। प्रदेश सरकार आईसकेपछि नाम परिवर्तन गरि अञ्चललाई प्रदेश बनाउने निर्णय भएको सचिव हमालले बताए। तर संरचना, शैया, जनशक्ती र उपकरण बढाउने विषयमा भने अहिले कुनै छलफल हुन नसकेको उनले बताए। अस्पतालको स्तरोन्नतीका लागि ओएनएम अर्थात आवश्यकता परिपुर्तीका लागि सर्वे गर्नुपर्ने हुन्छ। तर प्रदेश लोक सेवा आयोग गठन नहुँदा सर्वेको काम अगाडी बढाउन सकिने छैन्। सेती अञ्चल अस्पताललाई प्रादेशीक अस्पताल बनाउने निर्णय भएसंगै उप क्षेत्रीय अस्पताल डडेल्धुरालाई भने उप–प्रादेशीक अस्पतालको नाम दिईएको छ। तर उप क्षेत्रीय अस्पताललाई फेरी संघीय सरकारकै मातहतमा फिर्ता पठाएर केन्द्रिय अस्पताल बनाउने प्रक्रिया पनि अगाडी बढाईएको छ। कञ्चनपुरमा रहेको महाकाली अञ्चल अस्पतालको नाम पनि परिवर्तन गर्दै भिमदत्त पन्त अस्पताल राख्ने निर्णय भएको छ। तीन वटै अस्पतालको नाम परिवर्तन गरिएपनि संरचना, शैया, जनशक्ति र उपकरण थपघटका विषयमा भने कुनै छलफल भएको छैन्। 

सेती अञ्चल अस्पताल, उप क्षेत्रीय अस्पताल र महाकाली अञ्चल अस्पतालमा जनशक्तीको ठुलो अभाव छ भने भएका दरबन्दी पनि रिक्त छन्। शैया अभावले विरामीहरुलाई अन्यत्र पठाउन पर्ने बाध्यता रहेको छ। उपकरण अभावले धेरै रोगको उपचार सम्भव नै छैन्। अस्पतालको स्तरोन्नती गर्दै संरचना, शैया, जनशक्ति र उपकरण थप्नमा सरकार केन्द्रित हुनुपर्ने सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीको भनाई छ। 

सेती अञ्चल अस्पतालमा ५० शैयामा नेपाल सरकारले स्वीकृत दिएको छ भने थप ७५ शैया अस्पताल विकास समितिले सञ्चालन गरेको छ। चलाउने अनुमति १ सय २५ शैयामा भए पनि बिरामीको चाप निकै बढि छ। साढे ३ दशकदेखि स्तरोन्नती नगरिदा अस्पतालमा जनशक्ती, संरचना र शैया अभावको बिकराल समस्या देखीएको छ। अस्पतालमा सुदूरपश्चिमका ९ जिल्लाका ग्रामीण क्षेत्रका स्वास्थ्यचौकी, जिल्ला अस्पतालहरु, महाकाली अञ्चल अस्पतालदेखी उप–क्षेत्रीय अस्पताल डडेल्धुरावाट पनि विरामी रेफर भएर आउने गरेका छन। सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीले भने अस्पतालहरुको स्तरोन्नतीको लागि ५ जनाको विज्ञ टोली गठनको तयारी भएको बताए। विज्ञ टोलीले तयार पारेको प्रतिवेदन अनुसार अस्पतालहरुको स्तरोन्नती हुने उनले बताए। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस