प्रभुराम शर्मा आजबाट नयाँ प्रधानसेनापति

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी छिन्। राष्ट्रपति भवन शितल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारी समक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको सपथ लिए । संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन्।
समारोहमा रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए। मुलुकको प्रमुख सुरक्षा अंग नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिकारूपमा शर्माले तीन वर्षे कार्यकालका लागि आजैबाट औपचारिकरुपमा सैनिक नेतृत्वको जिम्मेवारी सम्हाल्नेछन्।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिशमा उनलाई यही भदौ ११ गते आजदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्ति गरेकी हुन्। नवनियुक्त प्रधानसेनापति शर्माले जङ्गी अड्डामा निशान भगवतीको पूजाअर्चना गर्नेछन्। उनको सम्मानमा सैनिक टुकडीले प्रधानसेनापति सम्मान गारत अर्पण गर्नेछ। आजै पदवहाली, रथीबृन्दलाई सम्बोधन र सैनिक मञ्च टुँडिखेल र छाउनी पुगेर वीर सैनिकप्रति पुष्पहार अर्पण गर्ने नवनियुक्त प्रधानसेनापति शर्माको कार्यक्रम छ।

यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन बर्षे कार्यकाल आजै सकिएको छ। महारथी शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतंकवाद एवं सुरक्षा, थाईल्याण्ड र पाकिस्तानबाट प्रतीरक्षा तथा बंगलादेशबाट शान्ति सेना सम्बन्धी उच्चस्तरीय तालिम प्राप्त गरेका छन्।

युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पुरा गर्नुभएका शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा सम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे पूर्ण जानकार हुन्। उनले संयुक्त राष्ट्र संघको शान्ति मिशन अन्तरगत पूर्वी टिमोरमा गुल्म र कङ्गोमा गणको अन्तर्राष्ट्रिय कमाण्ड गरेका थिए।