त्यसपछि त्यो केटीसँग म कहिल्यै बोलेन
कुरो मेरो समयको हो। अनि कुरो ५० को दशकको ग्रामीण परिवेशको हो। आज म ग्रामीण परिवेशमा हुर्किएको एक स्कुले केटोले आफ्नो किशोरावस्थामा अनुभव गरेको प्रेम या आकर्षणको एक सानो अंशको चर्चा गर्ने तयारीका साथ किबोर्डमा औंला चलाइरहेको छु। आज स्कुले जीवनको, किशोरावस्थाको एउटा रमाइलो घटनाको बिस्तारपूर्वक इमानदार भएर वर्णन गर्ने प्रयास यो आलेखमा गरेको छु।
माथि नै भनिसके यो ५० को दशकको ग्रामीण परिवेशको एक प्रतिनिधि अनुभव या अनुभूति हो भनेर। म १५ वर्षको हुँदा कक्षा ९ मा थिए। किशोरावस्थाको कक्षा ९ मा पढ्दाको काउकुति लगाउने समयको यो प्रसंगबारेको चर्चा सुनेर तपाई मध्ये धेरै हास्नुहुनेछ भने केहीले आफ्नो कथा कसरी टपक्क टिपेर लेखियो भन्ने ठान्नुहुनेछ। कक्षा ८, ९ र १० मा पढ्दाको उमेर, त्यो समयमा व्यक्तिमा हुने शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक परिवर्तनबारे एकछिन कल्पना गर्नुहोस् त। तपाई पक्कै मुस्कुराउन बाध्य हुनुहुनेछ, त्यो सुनौलो विगत सम्झेर। हो, त्यही सुनौलो विगतको उत्खनन् गरेर स्मृतिको उपल्लो पत्र उप्काएर पढ्न केही मिनेट लाग्ने सामग्री पस्किदै छु। झर्को नमानी हाँसीहाँसी तपाईहरु पढ्नु हुनेछ भन्ने कल्पना गर्दै शब्द बुन्ने कोशिस गर्दैछु।
नेपालमा प्रजातन्त्र पुनर्वहाली भएको थोरै वर्ष भएको थियो। बैतडीको पुर्चौडी हाटमा २००४ सालमा खोलिएको डिलेश्वरी माध्यमिक विद्यालयको विद्यार्थी थिए म। यो स्कुलको स्थापना राणाकालमा हाटकै शिक्षासेवी तथा राजनीतिज्ञ स्वर्गीय डम्बरबहादुर बमले गरेका थिए। आफैले स्थापना गरेको विद्यालयको प्रधानाध्यापक भएर राणाकालमै शिक्षाको ज्योति छर्न सफल बम पछि गएर राष्ट्रिय पञ्चायत सदस्य पनि भएका थिए। यो स्कुलमै मेरा पिताले पनि अध्ययन गरेका थिए। त्यहीँ स्कुलमा म पढिरहेको समयमा भने संस्थापक बम विद्यालय व्यवस्थापन समितिको अध्यक्ष थिए। किशोरावस्थाको कथा भन्छु भन्दै थियो, इतिहास पढाउन थाल्यो भनेर सोच्दै हुनुहुन्छ होला। स्कुलको प्रसंग आएकोले म निकै पुरानो स्कुलमा पढेको थिए है भनेर थाहा दिन यो कुरा लेख्न खोजेको।
अनि अर्को कुरा खास घटना घुमाइ फिराइ भन्नुको पनि बेग्लै आनन्द हुन्छ नि। मैले सुरुमै भनेको छु, सानो घटनालाई सविस्तार भन्ने छु भनेर। त्यो समय थियो २०५४ साल। महिना चाँही मंसिरको थियो। गते भने ठ्याक्कै बिर्सिन पुगे। त्यो दिन शुक्रबार थियो। शुक्रबार भनेपछि दुई किताब एक कापी बोकेर विद्यालय जाने दिन। शुक्रबार भनेपछि अतिरिक्त क्रियाकलाप हुने दिन। शुक्रबार भनेपछि शनिबारको अघिल्लो दिन। शनिबार भनेपछि स्कुल छुट्टि हुने दिन। हामीलाई यो शुक्रबार किन आउँछ भन्ने लाग्थ्यो। कारण दोस्रो दिन शनिबार हुन्थ्यो। शनिबार स्कुल बिदा हुने। बिदाको दिन घरमा अतिरिक्त काम गर्नुपर्ने।
स्कुल लागेको दिन कसैले केही नअह्राउने तर छुट्टिको दिन घरकाले यो गर त्यो गर भनेर हैरान गर्ने। अनि अर्को मन अमिलो बनाउने हुरा के भने साथीहरुसँग शनिवार भेटै नहुने। आइतबारसम्म कुर्नुपर्ने। उमेर भने कस्तो कि साथी बिनाको पनि कोही बाँच्न सक्ला र भनेर टोलाउनुपर्ने।
मंसिरको त्यो शुक्रबारको दिन अतिरिक्त क्रियाकलापछि स्कुल छुट्टि हुने समयभन्दा केही मिनेट अगाडि मेरै कक्षाका दुई जना केटी साथीहरु मलाई एक्लै देखेर सरासर म तर्फ आउँदै गरेको देखेँ। दुबै अलि लजाउदै थोरै मुस्कुराउँदै म तर्फ आइरहेका थिए। त्यो दिन उनीहरुको पाइला, नजर तथा मन्द मुस्कानले केही फरक संकेत गरिरहेको मैले सहजै अनुमान लगाइहाले। ६ कक्षामा पढ्दा हाम्रो भेट भएको थियो। ती दुबैसँग कहिलेकाँही पढाइ तथा अन्य विषयमा कक्षा कोठामा सामान्य कुराकानी हुने गर्दथ्यो। कुराकानीभन्दा पनि बढी आँखा र मनले हामीबीच संवाद हुने गरेको चाँहि कक्षा ७ बाट हो। एउटै कक्षा भएको कारण विद्यालयमा हामी ओल्लोपल्लो बेञ्चमा बस्ने गर्दथ्यौँ। कक्षा ७ बाट नै दुईमध्ये एकसँग मेरो आँखा हरेक दिन पटकपटक ठोक्किने गर्दथे। न ढाटीभन्दा त्यो केटीलाई म मनमनै मन पराउन थालिसकेको थिए। तर यो कुरा मैले आफूभित्रै सिमित राखेको थिए।
मलाई त्यो केटीले पनि मन पराउँछ भन्ने थाहा थियो। आफूले माया गर्ने मान्छेले बदलामा माया नै त हुन गर्न सक्ने। यो मायाको सामान्य सिद्धान्त सबैलाई थाहा भएकै कुरा हो। हामीले गर्ने माया अव्यक्त थियो कक्षा ९ सम्म आइपुग्दा त्यो केवल दुबैभित्र सिमित थियो। न हाम्रो प्रेम कागजमा पोखियो न कुनै शब्द र लयमा।
तर मंसिरको त्यो शुक्रबारले माया प्रकटित त भयो तर अनौठो किसिमले। त्यो दिन उनी आफ्नो मिल्ने साथीसँगै म छेउ आइन। उनी मेरो सामुन्ने भएको समयमा म हाम्रो कक्षाको बाहिर झ्याल नजिकै झोला बोकेर अन्य साथीहरु आउने प्रतिक्षा गरिरहेको थिए। हाम्रो गाउँका साथीहरु पानी पिउन गएका थिए। म उनीहरुका लागि एक छिन रोकिएको थिए। म एक्लो भएको मौका छोपेर नै उनी म उभिएको ठाउँमा आएकी थिइन्।
हाम्रो समयमा अहिले जस्तो कहाँ थियो र ? त्यो समय प्रेमपत्र लेख्ने, सायरी लेख्ने, अनि पोष्टकार्ड दिने समय थियो। अहिले जस्तो मोबाइल फेसबुक थिएन क्यारे। हामीले व्यक्त गर्ने प्रेमका कुरा, मायाका कुरा केवल नजरको डिलबाट, मुस्कानको मुहानबाटै व्यक्त हुने गर्दथे। हामीले गर्ने प्रेम सुन्तलाका दाना तथा भुटेको मकै तथा भटमासमा मिसिएको हुन्थ्यो। हामीले गर्ने प्रेमालाप गृहकार्यको कापीका हिसाब तथा प्रश्न उत्तरमा हुन्थ्यो। मन मिल्ने साथीको कापी लगेर गृहकार्य सार्ने या गृहकार्य गरिदिने चलन थियो हाम्रो समयमा। गृहकार्य गरिदिनु भनेको डेटिङ जानु जस्तै थियो। हाम्रा लागि मोःमो, पिज्जा भनेको त्यही सुन्तला, भोगटे र नास्पति थिए। स्कुलको चौरमा बसेर खानुको आनन्द बेग्लै हुने गर्दथ्यो।
हाम्रो समयमा अहिले जस्तो फोन तथा इन्टरनेट भएको भए स्कुले माया यति जीवन्त र बिर्सनै नसकिने हुँदैनथ्यो होला। त्यो बेला हाम्रो स्कुल नजिकै केवल एकमात्र पिसिओ थियो। जहाँबाट काठमाण्डौं, धनगढी र महेन्द्रनगर लगायत ठाउँमा रहेका आफन्तसँग कुराकानी गर्न मान्छेहरु घण्टौंको बाटो हिँडेर आउने गर्दथे।
त्यो पिसिओबाट फोन गर्ने अवसर पाउनु पनि ठूलै सफलता ठानिन्थ्यो। हरेक दिन फोन गर्नेहरुको घुइँचो हुने गर्दथ्यो। शनिबारको दिन त कोरोनाको खोप लगाउनेहरुको जस्तो लाइन फोन गर्ने हरुको हुने गर्दथ्यो। पहुँचवालाले मात्रै अलि लामो कुरा गर्न पाउथे या फोन कुरा गर्दागर्दै काटिए पनि पुनः डायल गर्न पाउथे अन्यथा एक मिनेटमै फोन काटियो भने पिसिओको अपरेटरले भोलि आउनु आज लाइन लागिरहेको छैन भनिदिन्थ्यो। बिचरा सोझा गाउँलेहरु आफन्तसँग पुरा कुराकानी गर्न त पाउने अवस्था थिएन भने हामी स्कुलेहरुले फोनमा प्रेम संवाद गर्न पाउनु कल्पनाभन्दा बाहिरको कुरा थियो। त्यैपनि त्यो पिसिओ हाम्रो घरमा भएको भए मनका सबै कुरा उसलाई भन्थे भन्ने हुटीहुटी भने लाग्ने गर्दथ्यो।
अहिले जस्तो हातहातमा स्मार्ट फोन, घरघरमा वाइफाइ हुने जमाना थिएन त्यो। अझै पनि बैतडीको मेरो गाउँहरुमा सबैसँग मोबाइल भएपनि नेटवर्कको समस्याले फोन गर्न समस्या छ। हामी स्कुले हुँदाको एक मात्रै पिसिओ पनि मोओवादीहरुले २०५८ सालमा आगजनी गरेर ध्वस्त बनाएका थिए। त्यसपछि २०६४ मा सिडिएमए फोन आएपछि मात्रै ग्रामीणबस्तीमा ‘हलो ! हलो !’ भनेको आवाज गुन्जिन थालेको हो।
अरे फेरि कुरा अन्तै पुगेछ। मैले कुरा गर्दै थिए। मंसिरको महिनाको एक शुक्रबारको। म साथीहरुको पर्खाइमा रहेको बेला दुई जना परिचित अनुहार मेरो सामुन्ने उभिन्छन्। एउटा अनुहार अलि लजाएको थिायो। गाला राता बनाएर मेरो अनुहार पढ्ने चेष्टा उनको आँखाले गरिरहेको आभास मैले गर्दै थिए। अर्की साथीले मौनता भंग गर्दै भनिन्, ‘नारायण गोपाल जी ! यो चिठ्ठी आएको छ तम्रो।’
मैले चिठ्ठी कसले दियो होला र भन्ने अनुमान लगाउन नपाउँदै उसले मेरो हातमा एक बन्द खाम थमाउन पुगिन्। ‘कसले दियो मलाई चिठ्ठी ?’ यो भन्न नपाउदै दुबै त्यहाँबाट अलप हुन पुगे। बन्द खाममा पाउनेमा मेरो नाम लेखिएको थियो। खाम ओल्टाइ पल्टाइ हेर्न नपाउँदै मेरा साथीहरुको समूह मतर्फ आइरहेको देखे। उनीहरु ‘पख तलाई मुला !’ भन्ने भावमा म तर्फ छिटोछिटो आइरहेका छन् जस्तो मलाई लाग्न थाल्यो। हत्तपत्त मैले त्यो पत्र झोलामा भएको किताबभित्र राखेर सुरक्षित महसुस गर्न थाले। किताबको बिचमा चिठ्ठी घुसाएर म अरुदिनभन्दा निकै शान्त भावमा साथीहरुसँग कुराकानी गर्ने चेष्टा गर्न थाले। तर मेरा साथीहरुलाई ती केटीले केही चिज मलाई दिएको आशंका भइसकेको थियो। उनीहरु मलाई केरकार गर्न थाले। मैले खास कुरा बताउने कुरै भएन। चिठ्ठी भनेर के दियो त्यो मलाई पनि थाहा थिएन। कागत मात्रै पनि त हुन सक्छ भन्ने म सोचीरहेको थिए। तर एक मनले यो प्रेम पत्र हो भन्ने मैलै एकिन गरिसकेको थिए।
स्कुल जाँदा–आउँदा तीन वटा नदी तर्नुपथ्र्यो। त्यो बेला नदीमा पुलको सुविधा थिएन। बर्सातमा निकै धेरे पानी हुने भएपनि असोजपछि भने ती नदीमा थोरै पानी हुन्छ। स्कुलबाट घर फर्किँदा पहिले लोली त्यसपछि बागागाड अनि कोटेली गाड पर्छ। मेरा साथीहरुको समूह कोटेली गाड तरेपछि मेरो पिछा गर्न थाल्यो। उनीहरुले दाबी गर्न थालेकी मलाई ती केटीहरुले प्रेम पत्र नै दिएको हो। अनि त्यो प्रेमपत्र देखाउनु पर्यो भनेर निकै ढिपी गर्न थाले।
मैले ती केटीहरुले कुनै पत्र नदिएको दोहर्याउदै गए। तर साथीहरुले मलाई समातेर मेरो र झोलाको तलासी नै लिने भन्न थाले। मलाई समात्ने र चिठ्ठी खोस्ने साथीहरुको मनसाय बुझेर म भाग्न थाले। मलाई भाग्न लागेको देखेर सबै मेरो पछिपछि आउन थाले। उनीहरुको अनुमान सही भएको जिकिर गर्दै समात यसलाई भनेर मलाई साथीहरु लखेट्न थाले। म दौडिन थाले। साथीहरुले मलाई केही पर पुगेपछि सजिलै भेट्टाइहाले। मैले मेरो झोला तथा खल्तीको तलासी उनीहरुलाई सहजै लिन दिए। बिचराहरुले केही भेट्टाएनन्। भेट्टाउन पनि कसरी? मैले दौडिदा दौडिदै किताबको बिचबाट चिठ्ठी निकालरे झाडीमा फालेको थिए।
चिठ्ठी दिएको रहेनछ भन्दै सबै मभन्दा अगाडि लागे। म भने कपडा र झोलामा लागेको माटो टकटक्याउने बाहानमा अलि पछाडि रहे। साथीहरु थोरैमाथि पुगेपछि झाडीमा फालेको चिठ्ठी उठाएर उनीहरुसँगै गफ गर्दै घरतर्फको ओकालो चढ्न थाले।
कति खेर घरमा पुगिएला र खाम खोलेर हेरौँला भएको थियो। घरमा पुगेर लुगा नफुकालेरै चिठ्ठी खोलेर हेर्छु त साथीहरुको दाबी सत्य सावित हुन पुग्यो। मलाई सम्बोधन गरेर दुईजना केटीले प्रेम पत्र नै पठाएका रहेछिन्।
लेखिएको थियो, ‘प्रिय नारायण गोपाल ! मुटुभरीको माया अनि अटुट सम्झना।’ मलाई स्कुलमा साथीहरुले नारायण गोपाल भन्ने गर्दथे। ती दुबैले पनि नारायण गोपाल भनेरै मलाई प्रेम पत्र लेखेका थिए। यसरी प्रथम पटक मेरै कक्षाका साथीहरुबाट संयुक्त प्रेमपत्र पाएको थिए। उनीहरुले दुई पानामा आफ्नो भावना समेटेर मलाई दिएका थिए। मलाई दुबैले पत्र पठाएकोले मैले पनि दुबैलाई त्यसको जवाफ लेख्नुपर्छ भनेर चार पेजमा पत्रको जवाफ लेखे।
जवाफी पत्र आइतबार स्कुल समयमा दिनुपर्ने तर दुबैलाई एकै ठाउँ भेट्टाउनै सकिएन त्यो दिन किन हो ती दुबै सँगै देखिएनन्। अन्त्यमा एकलाई त चिठ्ठी दिनै पर्यो भनेर सरासर गएर ‘तिम्रो चिठ्ठी आएको छ। म तिम्रो झोलाभित्र राखिदिन्छु है’ भने। उनले हुन्छ भन्ने भावमा टाउको हल्लाइन। मैले जसलाई कक्षा ६ बाट नै मन पराउथे त्यही केटी साथीलाई यो कुरा भनेको थिए। मैले सुटुक्क उनको झोलामा रहेको एक कितावको बिचमा आफूले लेखेको पहिलो प्रेम पत्र जतनका साथ राखिदिए।
भएछ के भने, जसको झोलामा मैले पत्र राखेको थिए। उसले त्यो पत्र अर्को साथीलाई देखाएनछ। तर मैले दुबैलाई पत्र लेखेको थिए। यो कुराले दुबैको बिचमा झगडा नै परेछ। झगडा भएको कुरा मलाई तब मात्रै थाहा भयो जब मेरो दिदीले मलाई प्रेम पत्रको व्यहोरा गाली गर्दै बताइन्। मसँगै पढ्ने दिदी मेरा हजुरबुवाका मित छोराको छोरी थिइन्। दिदीले गाली गर्दै ‘पढ्न छोडेर लभ लेटर लेख्छस्, अब घरमा दाइलाई कुरा लगाइदिने’ भनेर भन्न थालिन। मेरो प्रेमपत्र दिएको गोप्य कुराको यसरी पोल खुल्दा म निकै डराए अनि दिदीका अगाडि कान समातेर फेरि लभ लेटर कहिल्यै नलेख्ने त्यो केटी साथीसँग पनि कहिल्यै बोल्ने छैन भनेर पटकपटक कसम खाए। घरमा दाजुलाई नभन्न दिदीसँग बिन्ति गरे।
दाजुको निकै डर लाग्ने गर्दथ्यो। पत्र लेखेको थाहा भए त्यसको नतिजा नराम्रो हुने मलाई थाहा थियो। अनि भोलिपल्टदेखि भने कक्षामा म बस्ने बेञ्च पनि फरक हुन थाल्यो। मैले केटीहरुसँग बोल्न नै बन्द गरिदिए। यो क्रम स्नातक पढ्दासम्म कायम रह्यो।
भोलिपल्ट देखि त्यो केटी देख्नासाथ म तर्किन थाले। कक्षा १२ सम्म एउटै स्कुलमा पढियो तर म उसँग फेरि कहिल्यै बोलेन। उसको सामुन्ने समेत म एक्लै कहिल्यै परेन। कक्षा ११ मा पढ्दा माओवादीहरु पनि गाउँगाउँ पुगीसकेका थिए। कक्षा १२ पास भएपछि म धनगढी पढ्न आए। अनिपछि हाम्रो भेट हुने सम्भावना सदाका लागि टर्यो। अहिले उनी कहाँ छिन् त्यो मलाई थाहा छैन। म कहाँ छु भनेर उनी पनि अज्ञात नै रहेको हुनुपर्छ।
बस् कुरो यत्ति हो।