दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योग सरकारको प्राथमिकतामा: अर्थमन्त्री
काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्माले दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगको स्थापना तथा सञ्चालन गर्नेतर्फ सरकारले विशेष प्राथमिकतामा राखेको बताएका छन्।
अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले आयोजना गरेको श्रव्यदृश्य बैठकमा उनले उत्पादनमूलक उद्योगको विकास र प्रवद्र्धन गर्न नै सरकारले विशेष ध्यान दिएको बताएका हुन्। वर्तमान सरकार नेपालको अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने दिशातिर लागेको भन्दै मन्त्री शर्माले दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगसहित साना तथा मझौला उद्योग सञ्चालनका लागि आइएफसीसँग सहकार्य गर्न सकिने बताए।
दैनिक उपभोग्य वस्तु स्वदेशमै उत्पादन गरेर आयातलाई घटाउने सरकारको मुख्य लक्ष्य रहेको उनले बताए। “दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगमा हाम्रो प्राथमिकता छ”, मन्त्री शर्माले भने, “यस्ता उत्पादनबाट आयातलाई घटाउनु हाम्रो मुख्य उद्देश्य रहेको छ।”
हाल नेपालमा साना तथा मझौला उद्योगमा लगानी गर्न आवश्यक रहेको चर्चा गर्दै मन्त्री शर्माले यसका लागि आइएफसीसँग सहकार्य गर्न सकिने बताए। मन्त्री शर्माले सकारको ध्यान कोभिड–१९ महामारीपछि अर्थतन्त्रको पुनरुत्थानमै रहेकाले यसमा आवश्यक सहयोग गर्न आइएफसीलाई आग्रह गरे। आइएफसीको ज्ञान र अनुभव नेपालमा साना तथा मझौला उद्योग स्थापनाका लागि फलदायी हुने उनले बताए।