सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रादेशिक आयुर्वेद अस्पतालको भवन तयार, सञ्चालनमा ढिलाई

२०७८ भदौ १६, १०:१३ कमल सावद

धनगढीः संघीय सरकारले १६ करोड ३६ लाखको लागतमा ५० शय्याको प्रादेशिक आयुर्वेद अस्पतालको निर्माण लगभग सकिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरमा आयुर्वेद अस्पताल सञ्चालनका लागि भवन निर्माणको काम लगभग सकिएको हो। 

तर सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले आवश्यक जनशक्ति व्यवस्थापन र उपकरण खरिद नगर्दा सञ्चालनमा ढिलाई हुने देखिएको छ। अस्पताल परिसरमा टायल लगाउने, लिफ्ट जडान गर्ने, सरसफाई तथा कार्पेट लगाउने काम मात्र बाँकी छ। संघीय सरकारको बजेटमा शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले भवन निर्माणको काम अन्तिम चरणमा पुगाए पनि सञ्चालनको प्रक्रिया अगाडि नबढेको हो। 

प्रादेशिक आयुर्वेद अस्पतालमा ८ विभाग भएपनि सुरुमा प्रदेश सरकारले ४ विभाग मात्र सञ्चालन गर्ने तयारी थालेको सामाजिक विकास मन्त्रालयका आयुर्वेद चिकित्सक डाक्टर चेतराज जोशीले बताए। उनले भने, ‘५० शय्याको आयुर्वेदिक चिकित्सालय हो। ५० शय्याको अस्पताल सञ्चालनका लागि ७५ जना आवश्यक हुन्छ हामीलाई। तर सुरुमा चार विभाग मात्र सञ्चालन हुन्छ। ३७ जनाको प्रस्ताव गरेका छौ।’

प्रत्येक विभागमा एक÷एक जना विशेषज्ञ चिकित्सक, विशेषज्ञ चिकित्सकलाई सहयोगका लागि थप एक÷एक जना चिकित्सक, कविराज, वैद्य, स्टाफ नर्स, एएनएम तथा ल्यावका कर्मचारी समेत प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनका लागि आवश्यक हुने जोशीले बताए।  

कर्मचारीसँगै अस्पतालका लागि आवश्यक पर्ने उपकरण खरिदमा पनि ढिलाई हुने देखिएको छ। शय्या, एक्सरे मेसिन, ल्यावका सामाग्री तथा अन्य आयुर्वेदिक अस्पतालका लागि आवश्यक उपकरणसमेत खरिद नभएका हुन्। तर प्रादेशिक आयुर्वेद चिकित्सालयका निमिक्त प्रमुख डाक्टर खगेन्द्र बमले केही उपकरण आएको बताए।  ‘केही उपकरण अएको छ। बेडहरु आएका छन्। अल्ट्रासाउण्ड मेसिन आएको छ। एक्सरेको मेसिन आउने क्रममा छ। आयुर्वेदका लागि आवश्यक सामानसमेत खरिद गर्छाै,’ बमले भने। 

संघीय सरकारले अस्पताल सञ्चालनका लागि प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ। अस्पतालका संरचना हस्तान्तरण नभएकाले सञ्चालनमा ढिलाई भएको दाबी प्रदेश सरकारको छ। दशैँ अगाडि अस्पताल सञ्चालन गर्ने प्रदेश सरकारले बताएको छ। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस