कागजात बुझाउने समय अन्तिम पटकका लागि तीन दिन थप
कैलाली उद्योग वाणिज्य संघको सदस्यता विवाद
कैलाली उद्योग वाणिज्य संघको सदस्यता विवाद समाधानका लागि माग गरिएका आवश्यक कागजात बुझाउने समय तीन दिन थप गरिएको छ। यसअघि सात दिनका लागि तोकिएको समय आज सकिएपछि अन्तिम पटकका लागि आवश्यक कागजात बुझाउने समय तीन दिन थपिएको हो। आज पुर्व अध्यक्ष, जिल्ला प्रशासन लगायतको सहभागीतमा भएको भएको बैठकले यस्तो निर्णय गरेको हो।
संघको साधारण सभा स्वतन्त्र निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न गर्नका लागि गठन भएको छानविन समितीले तोकिएका आवश्यक कागजात पेस गर्न सुचना जारी गरेपछि व्यवसायीले सात दिनसम्म माग गरिएका कागजात बुझाएका थिए। तर धेरै व्यवसायीहरु छुटेकोले उनीहरुलाई लक्षित गरेर तीन दिनको समय थप गर्ने निर्णय सरोकारवालाको बैठकले गरेको हो। कैलाली उद्योग वाणिज्य संघको सदस्य हुनका लागि घरेलु तथा साना उद्योग कार्यालय वा वाणिज्य कार्यालयमा दर्ता भएको, प्यान भ्याटमा दर्ता भएको र कर चुक्ता भएको कागजपत्र पेस गरेपछि संघको सदस्य हुन पाउने मापदण्ड वनाईएकोले सोही अनुसार कागजात पेस गर्नका लागि एक साताको समय अपुग भएपछि तीन दिन म्याद थप्न सवैले सहमति जनाएको छानविन समितीकी सदस्य सचिव गोमा अधिकारीले जानकारी दिए।
यता कागजात बुझाउन पहिलो पटक दिएको सात दिनको अवधिमा दुई हजारभन्दा वढी व्यवसायीले माग गरेका विवरण बुझाएका छन्। सात दिनसम्म साढे १७ सय व्यवसायीको नाम नै दर्ता भईसकेको र ५ सय व्यवसायीका विवरणहरु दर्ता गर्न बाँकी रहेको छ। सात दिनमा २२ सय व्यवसायीका कागजातहरु छानविन गरेर संघको सदस्य बनाईएको छ। उच्च अदालत दिपायलले निर्वाचन रोक्न दिएको अन्तरिम आदेशका कारण स्थगित भएको निर्वाचन प्रक्रिया सदस्यता छानविनपछि सुरु गरिने भएको छ। उच्च अदालतले वास्तविक व्यवसायी मात्रैलाई मताधिकार दिने गरी निर्वाचन सम्पन्न गराउन आदेश दिएपछि प्रशासनले त्यसको छानविन गर्न समिती बनाएकोमा सो समितीले छानविनको काम गरिरहेको छ।