सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिभी, पलङ लगायतका सामाग्री संगै लगे बर्खास्त मन्त्री सोडारीले

२०७५ मंसिर ११, ०३:४२ जनक विष्ट

पदीय मर्यादा विपरीत आचरण गरेको आरोपमा बर्खास्तमा परेका सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारीले सरकारी आवासका सामान आफूसँगै लगेका छन्। सरकारी आवासका सामान मन्त्रालयलाई बुझाउनुपर्ने भएपनि पूर्व मन्त्री सोडारीले सरकारी आवासका सामान लगेर गएका हुन्। मन्त्रालय उच्च स्रोतका अनुसार सोडारीले सरकारी आवासमा रहेका सुत्ने पलङ, कम्प्युटर, प्रिन्टर लगायतका सामान लगेर गएका हुन् । तर सामाजिक विकास मन्त्रायले भने यस विषयमा बोल्न मानेको छैन्। बर्खास्तमा परेका मन्त्रीको बचाउ गरेको मन्त्रालयले मन्त्रीको आवासमा हेरेपछि मात्रै सो कुरा थाहा हुने जनाएको छ। 

पदिय आचरण विपरीत आचरण गरेको आरोपमा नेकपाले गत कार्तिकमा बर्खास्त गरेका सामाजिक विकास मन्त्री दीर्घ सोडारीले सरकारी आवासका सामान उठाएर लगेका हुन्। पूर्व मन्त्री सोडारीले सरकारी आवासमा रहेका व्याड विस्तरा, मोवाईल फोन, ल्यापटप कम्प्युटर, प्रिन्टर, टेलिभिजन  लगायतका सामान लगेको खुलेको हो। सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार सोडारीले सरकारी आवासका समानहरु लगेपछि नवनियुक्त मन्त्री कृष्णराज सुवेदीका लागि नयाँ सामान खरिद गर्नुपर्ने आवश्यकता देखिएको छ । तर पूर्व मन्त्री दीर्घ सोडारीले सरकारी आवासका सामान गायब गरेको विषयमा मन्त्रालयले प्रतिक्रिया दिन मानेको छैन् । सोडारीको बचाउ गर्दै मन्त्रालयले मन्त्रीको आवासमा हेरेपछि मात्र के कति सामान छैन भन्ने कुरा जानकारी दिन सकिने जनाएको छ । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खडकाले आवश्यक सामाग्रीहरुका बारेमा जानकारी लिईरहेको बताए । 

तर दिनेश एफएमले सामाजिक मन्त्रालयसँग मन्त्रीको सरकारी आवासका लागि यसअघि खरिद गरेका सामान र नयाँ मन्त्री आएपछि खरिद भएका सामानको विवरण सोमबार नै माग गरेपनि उपलब्ध गराउन आनाकानी गरिएको हो । मन्त्रीको सरकारी आवासका लागि ११ लाख ७३ हजार खर्च गरेर सामानको प्रवन्ध मिलाइएको थियो । त्यसमध्येका अधिकांश सामान पूर्व मन्त्रीले गायब गरि दिएपछि फेरी खरिद गर्नुपर्ने भएको छ। विगतमा आवासमा के के सामान थिए भन्ने विषयमा जानकारी नभएपनि आवश्यक पर्ने केही सामान भने खरिद गरिएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए । 

बर्खास्तमा परेका सोडारीलाई मन्त्रालय भित्रका सामान गायब गरिएको विषयमा प्रतिक्रिया लिने प्रयास गर्दा उहाँ सम्पर्कमा आउनु चाहेनन् । अस्थायी मुकामबाट १५ किलोमिटर आसपासमा घर भएका मन्त्रीले सरकारी आवास सुविधा लिन नपाउने नियमको समेत सोडारीले उल्लङघन गरेका थिए । उनको घर धनगढीमा हुँदा हँुदै सरकारी आवास सुविधा लिएका थिए । 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस