कैलाली उद्योग वाणिज्य संघको सदस्यता छानविनको काम सुरु
७ दिनभित्र तोकिएका कागजात पेस गर्नका लागि सुचना जारी
कैलाली उद्योग वाणिज्य संघको सदस्यता विवाद समाधानका लागि छानविनको काम सुरु भएको छ । संघको साधारण सभा स्वतन्त्र निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न गर्नका लागि गठन भएको छानविन समितीले तोकिएका आवश्यक कागजात पेस गर्न सुचना जारी भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत विकास लम्सालको संयोजकत्वमा रहेको सदस्यता छानविन समितीले सरोकारवाला सहित पुर्व अध्यक्षहरुसँग छलफल गर्दै काम अगाडी वढाएको हो । कैलाली उद्योग वाणिज्य संघको सदस्य हुनका लागि घरेलु तथा साना उद्योग कार्यालय वा वाणिज्य कार्यालयमा दर्ता भएको, प्यान भ्याटमा दर्ता भएको र कर चुक्ता भएको कागजत पत्र पेस गरेपछि संघको सदस्य हुन पाउने मापदण्ड वनाईएकोले सोही अनुसार कागजात पेस गर्नका लागि एक साताको समय दिईएको छ । संघको सदस्य हुनका लागि तोकिएका कागजातहरु ७ दिनभित्र पेस गर्नका लागि छानविन समितीले सार्वजनिक आव्हान गरेको छ । नयाँ व्यवसायीले पनि मापदण्ड पुगेमा संघको सदस्य भएर मताधिकारको प्रयोग गर्न पाउने गरी सदस्यता छानविनको काम सुरु गरेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिए ।
उच्च अदालत दिपायलले निर्वाचन रोक्न दिएको अन्तरिम आदेशका कारण स्थगित भएको निर्वाचन प्रक्रिया सदस्यता छानविनपछि सुरु गरिने भएको छ । उच्च अदालतले वास्तविक व्यवसायी मात्रैलाई मताधिकार दिने गरी निर्वाचन सम्पन्न गराउन आदेश दिएपछि प्रशासनले त्यसको छानविन गर्न समिती बनाएकोमा सो समितीले छानविनका लागि काम थालेको हो । व्यवसायीहरुले कागजपत्र बुझाएपछि समितिले छानवीन गर्ने र त्यसका आवश्यक थप जनशक्तीहरुको व्यवस्थापनका विषयमा समेत तयारी भईसकेको प्रशासनले जनाएको छ । व्यवसायीले वास्तविक व्यवसायी भएको कागजात पेस गरेपछि त्यसकोृजति सक्दो चाँडो छानविन गरेर मंसीरभित्रै निर्वाचन सम्पन्न गराउने तयारी गरिरहेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी भट्टले बताए ।