सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवक हत्याका दोषीलाई कारवाहीको माग, कैलाली बन्दको घोषणा

२०७५ मंसिर २, ०४:०३ खबर संवाददाता

प्रदेशको अस्थायी राजधानी धनगढीमा युवकको हत्या प्रकरणमा पिडितले दोषीलाई कारवाही र पिडितलाई न्यायको माग गरेका छन् । विजय थापा न्यायिक संघर्ष समिती गठन गर्दै उनीहरुले घटनालाई मोड्ने प्रयास भईरहेको भन्दै आन्दोलनको घोषणा समेत गरेका छन् । प्रदेश प्रमुखको कार्यालय नजिकै धनगढी उप–महानगरपालिका वडा नम्वर ४ स्थित नाष्ट कलेज अगाडी स्थानीय विजय थापाको हत्या भएको थियो । थापाकी आमा सीता थापाले शनिवार किटानी जाहेरी दर्ता गरेपछि प्रहरीले अनुसन्धानमा ध्यान नपुराएको भन्दै आन्दोलनको घोषणा गरिएको छ ।

आज जिल्ला प्रहरी कार्यालय कैलालीको परिसरमा पत्रकार सम्मेलन गर्दै पिडित परिवारले दोषीलाई कारवाहीको माग गरेका छन् । आन्दोलनका कार्यक्रम अन्तर्गत भोली चौराहदेखि जिल्ला प्रशासन कार्यालयमा पुगेर धर्ना दिईने छ । पर्सि दिउँसो १२ बजेदेखि अनिश्चितकालीन कैलाली बन्दको घोषणा गरिएको छ । बाँकी आन्दोलनका कार्यक्रमहरु त्यसपछि तय हुने विजय थापा न्यायिक संघर्ष समितीका संयोजक प्रेम साउँदले बताए । 

 

शनिवार मृतककी आमा सीता थापाले जिल्ला प्रहरी कार्यालय कैलालीमा धनगढी उप–महानगरपालिका वडा नम्वर ४ कै आशिष सेठी विरुद्ध कर्तव्य ज्यान मुद्धामा जाहेरी दर्ता गरिसकेका छन् । रक्ताम्य युवकलाई घिसार्दै लगिरहेका बेला सेठीलाई प्रहरीले शुक्रवार राती नै पक्राउ गरिसकेको छ । सेठीले थापा छतबाट खसेको र उपचारका लागि अस्पताल लैजाने क्रममा प्रहरीले पक्राउ गरेको र आफुले हत्या नगरेको बताउदै आएको प्रहरी श्रोतले जनाएको छ। घटनास्थल नजिकै घर भएका दिपेन्द्र चौधरीलाई बयानपछि छोडिएको छ । 

कमेन्ट लोड गर्नुस