सुदूर नेपाललाई विश्वसँग जोड्दै

उखुको बक्यौता रकम भुक्तानी गर्न माग

२०७८ साउन १४, ०९:२८ रासस

काठमाडौँः उखु किसानले सरकारसँग उखुको बक्यौता रकम भुक्तानीको व्यवस्था गरिदिन आग्रह गरेका छन् । चिनी मिलले लामो समयसम्म उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै काठमाडौँ आएका किसानले रकम भुक्तानीको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका हुन् ।
     
आज रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै किसानले भदौ ५ गतेसम्म रु १५ करोड बढी रहेको बक्यौता रकम भुक्तानीको समय दिएका हुन् । उखु किसान सङ्घर्ष समिति सर्लाही, राष्ट्रिय कृषि श्रमिक सङ्घ र उखु किसानले विगतमा भएको सहमति पालना नभएको भन्दै उक्त अवधिमा भुक्तानीको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
     
किसानले गत वर्षको मङ्सिरमा बक्यौता रकम भुक्तानीको माग गर्दै माइतीघरमा आन्दोलनसमेत गरेका थिए । उखु किसान सङ्घर्ष समिति एवं उद्योग मन्त्रालयबीच २०७७ साल पुस १३ गते पाँचबुँदे सहमति दोस्रोपटक भएको थियो । सहमतिअनुसार २१ दिनभित्र उखु किसानको सम्पूर्ण बाँकी बक्यौता रकम उद्योग मन्त्रालयले भुक्तानी गराउने जिम्मेवारी लिएको थियो । “उद्योग मन्त्रालयले उद्योगीको जायजेथा बिक्री गरेर भए पनि किसानलाई भुक्तानी गराउने जिम्मा लिएर पनि सम्पूर्ण भुक्तानी गराउन सकेन । किसानको भविष्यसँग खेलबाड गरिएको छ”, समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
     
उखु किसान सङ्घर्ष समिति सर्लाहीका सचिव हरिश्याम राय यादवले उखु किसानसँग सम्बन्धित अन्य समस्याका बारेमा सम्झौता भएको १२० दिनपछि गठित कार्यदलको प्रतिवेदन सार्वजनिक गर्ने भनेपनि हालसम्म सार्वजनिक नगरिएको जानकारी दिनुभयो । उहाँका अनुसार उद्योग मन्त्रालयले तयार गरेको प्रतिवेदतमा उद्योगीबाट कति रकम र नेपाल सरकारको अनुदानमध्ये कति रकम किसानलाई दिनुपर्ने हुन्छ त्यसको किटानी गरिएको छैन।

किटानी नभएकाले नै किसानका प्रतिनिधिले उक्त प्रतिवेदनमा हस्ताक्षरसमेत गरेका छैनन्। उखु किसान सङ्घर्ष समिति सर्लाहीका अध्यक्ष राम स्वार्थ राय छ वटा चिनी मिलले रु १५ करोड बढी रकम भुक्तानी नगरेको बताउछन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने चिनी उद्योग तथा जिल्ला प्रशासन कार्यालयबाट सबै रकम भुक्तानी भएको जानकारी आएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस