सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मेदेखि दुधमात्रै खाएर बाँचेका भुजंग, दाल भात खुवाउने प्रयास असफल

२०७८ साउन १४, ०६:२६ खबर संवाददाता

काठमाडौंः हामीलाई बाँच्नको लागि खाना चाहिन्छ। खानामा प्रायः अन्नबाट बनेका खानेकुराहरु खाइन्छ। तर, १७ वर्षका एक किशोरले जन्मेदेखि अहिलेसम्म अन्नको एक दाना पनि खाएका छैनन्। उनी केवल दुध खाएर बाँचेका छन्। भुजंग नामका यी किशोर भारतको महाराष्ट्रको चन्द्रपुर जिल्लाका हुन्।

गुरुदास र सुनिता मडावीका १७ वर्षका छोरा भुजंग अहिले चर्चाको विषय बनेका छन् किनकि उनले आजसम्म दुधबाहेक अरु केही पनि खाएका छैनन्। भुजंग जन्मदेखि नै अनौठा थिए। उनले जन्मेपछि १२ दिनसम्म आँखा खोलेका थिएनन् र आमाको दुध पनि खाएका थिएनन्। यो कारणले उनका मातापिता निकै चिन्तित पनि थिए। १३ औं दिन मात्रै उनले आँखा खोलेका थिए र दुध खाएका थिए।

भुजंगका पिता गुरुदास मडावीका अनुसार भुजंग ६–७ महिनाको भएपछि उनलाई दाल भात खुवाउने निकै प्रयास गरियो। उनलाई बिस्कुट खुवाउने पनि प्रयास गरियो तर सबै प्रयास असफल रहे। दुधबाहेक अरु जे खान दिए पनि भजंग चिच्याउन थाल्छन् र पूरै घरमा हंगामा मच्चाउँछन्। बाल्यकालदेखि अहिलेसम्म भुजंगको व्यवहार यस्तै छ।

नवभारत टाइम्सका अनुसार भुजंगका पिता गुरुदास गरिब छन्। मजदुरी गरेर परिवार पाल्ने उनलाई दैनिक पर्याप्त दुध किन्न निकै कठिन हुन्छ। अहिले उनी जसोतसो दैनिक आधा लिटर दुध भुजंगको लागि ल्याउँछन्। भुजंग त्यही दिनको आधा लिटर दुधले गुजारा गरिरहेका छन्। कहिलेकाहीँ पैसा नहुँदा दुध किन्न सकिँदैन। त्यस दिन भुजंग भोकै बस्छन् तर अरु केही खाँदैनन्।

गुरुदास मडावीका अनुसार भुजंगको ६ वर्षको उमेरसम्म उपचार पनि गरिएको हो ताकि उनी खाना खान सकुन् तर उपचारपछि पनि उनीमा कुनै असर भएन । उनले केवल दुधलाई मात्रै आफ्नो आहार बनाए। डाक्टरका अनुसार भुजंग मेडिकल रुपमा भने स्वस्थ छन्। सन्तुलित भोजन नखाए पनि भुजंगमा यसको कुनै दुष्प्रभाव छैन।

कमेन्ट लोड गर्नुस