सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रविधिको प्रयोग जाने सामान्य कामका लागि कार्यालय धाइरहनु पर्दैन

२०७८ साउन १४, ०३:२३ खबर संवाददाता

धनगढी: आन्तरिक राजस्व कार्यालय कैलालीका प्रमुख कर अधिकृत चन्द्रकुमार श्रेष्ठ सँग दिनेश एफएमका कार्यक्रम सञ्चालक पदमराज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शमा उहाँसँग गरिएको कुराकानीको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौँ।

आफ्नो अध्ययन, सरकारी सेवामा प्रवेशको विषयमा थोरै जानकारी गराई दिनुस् न ।
भोजपुरमा जन्मेको हुँ। बाल्यकाल भोजपुरमै बिताए। कक्षा ८ सम्मको अध्ययन पनि गाउँमै गरेको थिए। ८ कक्षा पछिको पढाईको लागि भने भोजपुर जिल्लाकै सदरमुकाम जानुपर्यो। २०३९ सालमा एसएलसी पास गरेपछि अस्थायी रुपमा भोजपुर जिल्ला स्वास्थ कार्यालयमा सह–लेखापाल भएर जागिर सुरु गरेको हुँ। जागिरे जीवन बिताउने भनेपछि आफ्नो व्यक्तित्व विकास गर्नुपर्छ लाग्यो।  

लोकसेवामा नाम निकाल्नु पर्यो भन्ने भयो। त्यतिखेर परिक्षा जुध्ने किसिमले विज्ञापन हुँदैनथ्यो। धनकुटा र खोटाङको दिग्तेल दुवै ठाउँबाट खरिदार तहमा लोकसेवा दिए। र, दुवै ठाउँमा मेरो नाम निस्क्यो। पहिला धनकुटाकैमा अन्तरवार्ता भयो र नाम पनि निस्क्यो। त्यहीँबाट म सुनसरी जिल्लाको एउटा जडिबुटी उड्डयन भन्ने कार्यालयमा पदस्थापन भए। जडिबुटी उड्डयन तथा तथ्यांक संकलन कार्यालयमा कार्यरत हुँदाखेरी नै म नेपालगञ्ज, महेन्द्रनगर गएको थिए। 

पछि धनकुटाकै निवासी सह–लेखापालमा कार्यरतसँग बिहे भयो। र, एउटा महेन्द्रनगर एउटा धनकुटा हुने भइयो।  मेडम र मैले काठमाडौं सरुवा गराउन पहल गर्यौ र ३ महिनामा नै महेन्द्रनगरबाट सरुवा भएको थिए। 

सरकारी सेवामा प्रवेशदेखि अहिलेसम्मको यात्रा कसरी सम्झिनुहुन्छ ? 
४६ सालतिर लोकसेवा दिएर नायव सुब्बा तहमा नाम निकाले। त्यतिखेर निर्माण तथा यातायात मन्त्रालय थियो। त्यसमा पदस्थापन भयो। २०५३ मा लोकसेवा दिए। आन्तरिक र खुला दुवै प्रतिस्पर्धामा भाग लिए तर दुर्भाग्यवश लिखितमा नाम निक्लेपनि अन्तरवार्तामा पास हुन सकिएन। राजस्व र प्रशासन दुवैतर्फ ५४ सालमा फेरि नाम निकाले पहिला राजस्वको नै रिजल्ट आयो। अन्तरवार्ता भयो र पास भए। अनि त प्रशासनको अन्तरवार्ता दिनुपरेन। यसरी राजस्व क्षेत्रमा २०५४ देखि काम गर्न थालेको हँु। अधिकृतको रुप अर्थमन्त्रालय, मूल्य अभुवृद्धि विभाग अन्तर्गतका कार्यालयहरुमा काम गरे। र, २०६६ को अन्तिम तिरमा म सचिवमा बढुवा भएको हुँ।

तपाई आफू कार्यरत कार्यालयबाट पनि आम मानिसले सेवा लिन्छन्। तपाइँ पनि आम नागरिक भएर अन्य सरकारी कार्यालयहरुबाट सेवा लिनुहुन्छ होला। कस्तो लाग्छ ?
हामी कार्यालयहरुमा जाँदा जुन अपेक्षा राख्छौं सेवाग्राहीले पनि त्यही किसिमको अपेक्षा राख्छन्। त्यो हामीले पूरा गर्नुपर्छ। हाम्रो कार्यालय त केही हदसम्म सफल पनि रह्यो। प्रविधिहरूको प्रयोगमा राजस्व विभागले कयौं चोटी पुरस्कार पनि जितेको छ। तर पनि अझै दिगो र प्रभावकारी सेवाको लागि धेरै प्रयास हुनु आवश्यक छ। हाम्रो कार्यालय मात्रै होइन समग्र अरु कार्यालयमा पनि प्रणाली बन्ने तर दिगो नरहने र सहज किसिमको नहुने भएको छ।

विभागमा प्रविधिको राम्रो प्रयोग भएको भन्नुभयो । सेवाग्राहीले पनि साच्चिकै त्यो अनुभुति गरेका छन् त ?
विभागको वेबसाइटमा सबै कुरा छ। सामान्य भन्दा सामान्य कामको लागि पनि सेवाग्राहीहरु कार्यालय आउनुहुन्छ। यसमा समस्या देखियो। थोरै प्रविधिको ज्ञानको अभावले सेवाग्राहीले यो कुरा प्रत्यक्ष रुपमा नै महसुस गर्न पाइरहनु भएको छैनन्। तर केही अन्तर भने आएको नै छ। आफ्नो हातमा सीप न भएपछि अरुको निर्भरमा रहनुपर्यो। निर्भर रहेको व्यक्तिले जे जस्तो गर्यो स्वीकार गर्नुपर्यो। यसले पनि सेवाग्राहीले चाहेजति राहत भने महसुस गरेका छैनन्।

कार्यालयको लक्ष प्राप्ति सोचेको भन्दा राम्रो भएको र आफूले कार्यालयमा आउँदादेखि नै कर्मचारीहरुको बानीव्यहोरा परिवर्तनको लागि प्रयास गरेको छु। सेवाग्राही टाढाबाट आएका हुन्छ। कर्मचारीले काम गरिदेलान। छिटो आफ्नो काम होला। उनीहरुको सोचाइ हुन्छ। यस्तो अपेक्षा कुनैबेला पुरा नहुँदा उहाँहरु आक्रोशित हुने गर्नुहुन्छ। तर कर्मचारीहरुले भने यो कुरालाई सामान्य लिनुपर्छ। यस्तो वातावरण बनाउन कार्यालयमा कर्मचारीहरुको लागि भनेर नियमित रुपमा योग ध्यानको व्यवस्था म आएकै केही दिनमा गरेको थिए।

कमेन्ट लोड गर्नुस