सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा मेडिकल कलेज माग्दै प्रधानमन्त्री देउवालाई बुझाए डा. केसीले खबरदारी पत्र

२०७८ साउन १२, ०४:४० खबर संवाददाता

धनगढी : प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ६ बुँदे खबरदारी पत्र पठाएका छन्। उनको खबरदारी पत्रमा प्रधानमन्त्रीको गृहजिल्लामा मेडिकल कलेज सञ्चलनको मागसमेत अटाएको छ।

डाक्टर केसीले डोटी वा डडेल्धुरामा मेडिकल कलेज खोल्नका लागि पनि प्रधानमन्त्री देउवालाई खबरदारी गरेका छन्। डडेल्धुरा प्रधानमन्त्री देउवाको गृहजिल्ला हो।

‘२०८० सालसम्ममा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल शिक्षण संस्था पुर्याउनुपर्ने प्रावधान चिकित्सा शिक्षा ऐनमा रहेकाले प्रदेश नं. २ र गण्डकी प्रदेशमा पनि तदारुकताका साथ त्यस्ता संस्था निर्माणलाई गति दिनुपर्छ। हामीसित सम्झौता भएबमोजिम इलाम वा पाँचथर, उदयपुर र डडेल्धुरा वा डोटीमा समेत सरकारी मेडिकल कलेज खोलिनुपर्छ,’ खबरदारी पत्रमा उल्लेख छ।

यस्तै गेटा मेडिकल कलेजमा आगामी शैक्षिक सत्रदेखि एमबीबीएसको पढाई सुरु गर्न पनि डाक्टर केसीले खबरदारी गरेका छन्। ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सुरु भइसकेको अवस्थामा आगामी शैक्षिक सत्रदेखि गेटा मेडिकल कलेजमा र त्यसपछिको शैक्षिक सत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सुरु गर्ने कुरालाई निश्चित गर्नुपर्छ,’ केसीको खबरदारी पत्रमा उल्लेख छ। 

कमेन्ट लोड गर्नुस