डडेल्धुराको रुपाल एक हप्तादेखि सदमुकामसँगको सडक सञ्जालबाट बिच्छेद
डडेल्धुराः निरन्तरको वर्षाका कारण डडेल्धुराको रुपाल सदरमुकामसँगको सडक सञ्जालबाट बिच्छेद बनेको छ। जिल्लाको भागेश्वर गाउँपालिका–४ बगरकोटको बिसामा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो।
सडकमा पहिरो गएपछि बगरकोटदेखि रूपाल र रूपालदेखि बगरकोट आवत जावत ठप्प भएको भागेश्वर गाउँपालिका–५ का स्थानीय राजबहादुर महताले जानकारी दिए।
यातायात सेवा अवरुद्ध हुँदा बिरामीलाई अस्पताल पुर्याउन समस्या भएको छ। ग्रामीण क्षेत्रमा निर्माण र दैनिक उपभोग्य सामग्रीको ढुवानी प्रभावित भएको महताले बताए।
उनले सडकमा पहिरो गएको सात दिन भइसक्दा समेत पहिरो हटाउन कसैले पहल नगरेको बताए। ‘पटक–पकट गाउँपालिकालाई जानकारी दियौं तर कुनै चासो दिइएन’ उनले भने।
भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हर्षबहादुर रोकाले गाउँपालिकासँग सानो जेसीबी भएको र पहिरो ठूलो गएकोले हटाउन समस्या भएको बताए।
ठेकेदारले पनि पहिरो सफा गर्न चासो नदिएको र, जिल्ला प्रशासनलाई पनि जानकारी गराइसकेको उनले बताए।
अहिले उक्त सडक चौडा बनाउने ठेक्का शनिदेव कन्ट्रक्सनले पाएको छ।