सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एउटा यस्तो सडक जहाँ आउजाउ गर्नै मान्दैनन् राजधानीवासी

२०७८ साउन ९, ११:१६ विन्दु चन्द

धनगढी : केही दिनको वर्षापछि शुक्रबार दिउसो धनगढीमा घाम लाग्यो। एक दिनकै घामले गर्मीको महसुस भइरहेको थियो। टन्टलापुर घाममा धनगढीको सहिद गेटदेखि शिवनगर जोड्ने सडकमा भने बाढी थियो।

वर्षा नभएपनि खेत तथा नालामा जमेको पानी सडक हुँदै बस्तीमा पसिरहेको बताउँदै थिए स्थानीय देवराज जोशीले बताए। निर्माणाधिन सडकमा हिलो र पानीका कारण स्थानीय हैरान भएको उनले बताए। उनले भने, ‘हिँडडुल गर्न धेरै समस्या भइरहेको छ। खाल्टाखुल्टीले दुर्घटनाको जोखिम बढाएको छ।’ एसियाली विकास बैँकको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाले उक्त सडक निर्माणका लागि ठेक्का सम्झौता गरेको छ। धनगढीको सहिद गेटदेखि क्याम्पस गेटसम्मको उक्त सडकमा शिवनगर क्षेत्रमा सबैभन्दा सास्ती छ।

नालीमा बग्दै आएको बर्षातको पानी सडकमा भरिएकाले सास्ती भएको हो। ‘सडकमा पानी भरिएको छ भने निर्माण थालिएको नाली सुख्खा छ। निर्माण कम्पनीले बर्षातको पानीको वास्ता नगरेकाले हैरान छौँ,’ स्थानीय सुलोचना सिंहले भनिन्। उनले सडकको पानी पसल भित्र पस्दा खाद्दयान्नका सामग्री कामै नलाग्ने भएको बताइन्। उनले भनिन्, ‘सडकभन्दा नाली उचाइमा छ। पानी पास नै हुँदैन। जम्मै पानी पसलभित्र पस्छ। बढी वर्षा भएको दिन रातभर नसुतेर पानी फाल्नुपर्ने हुन्छ। व्यापार गर्नै समस्या भइरहेको छ।’

सडक क्षतिग्रस्त हुँदा अहिले राजधानीवासीले उक्त सडक भएर आउजाउ गर्नै छोडेको उनले बताइन्। सडक निर्माण गर्दा पूरानो नाली पुरीएको र नयाँ नाली सडकभन्दा उचाइमा निर्माण गरिएकाले डुबान हुँदै आएको स्थानीय बताउँछन्।

धनगढीको हसनपुर क्षेत्रको पानीसमेत शिवनगर हुँदै बग्दै आएको स्थानीय माया लेखकले बताइन्।

पानी निकासका लागि पटकपटक आग्रह गर्दासमेत वास्ता नगरिएको गुनासो उनको छ। उनी भन्छिन्, ‘धनगढी उपमहानगरपालिकाका मेयरदेखि मन्त्री यही वस्तीमा बस्छन्। तर यो सडकको विजोग अवस्था कसैले पनि देखिरहेको छैन्।’

यता क्षेत्रीय शहरी विकासअन्तरगत धनगढीमा भइरहेको नाली र सडक निर्माणको काम सम्पन्न नभएको हुँदा सडकमा पानी जमेको आयोजनाका सूचना अधिकारी झंक थापाले बताए।

उनले भने, ‘तत्काल सडकमा जमेको पानी खोल्न निर्माण व्यवसायीलाई पत्राचार गरेका छौँ। सडकमा जमेको पानी निकास गर्ने काम भइरहेको छ।’

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस