सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौँबाट मेयर वडले भने, ‘धनगढी डुबानको समस्या समाधान गर्न कम्मर कस्छौँ’

२०७८ साउन ७, १०:१८ खबर संवाददाता

धनगढी : धनगढीमा हुने डुबानको समस्या समाधान गर्न कम्मर कसेर लाग्ने उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले बताएका छन्। दिनेश खबरको नागरिक सवाल कार्यक्रममा बिहीबार कुराकानी गर्दै मेयर वडले धनगढी उपमहानगरपालिका वडा नम्बर २ र ३ मा भइरहेको डुबानको समस्या समाधान गर्न संघीय सरकारको सहयोग जुटाइ रहेको बताए।

‘अहिले म काठमाडौंमा छु। भौतिक मन्त्रालयको टोली लिएर ढल निकासको समस्या समाधान गर्न ठोस योजना बनाइने छ,’ उनले भने, ‘नगरवासीले सहयोग गरे उपमहानगरपालिकामा डुबानको समस्या समाधान गर्न तयार छौँ। त्यसका लागि कम्मर कस्छौ।’

मेयर वडले दीर्घकालिन रुपमा वडा नम्बर २ र ३ को डुबान समाधान गर्न ६ लेन सडकको दाँयाबायाँ नाली निर्माण गर्न सक्ने तथा स्थानीयसँग छलफल गरेर अन्य विकल्पबारे पनि अध्ययन गर्ने बताए। 

तर तत्कालभने बस्ती तथा टोलको पानी निकासका लागि आवश्यक काम गर्न वडावासीसँग समन्वय गर्न वडा अध्यक्षहरुलाई आग्रह गरिएको नगर प्रमुख वडले बताए। संघीय सरकारबाट प्राविधिक तथा आर्थिक सहयोग प्राप्त गर्न अहिले संघीय राजधानीमा रहेको तथा नगरको डुबान समाधान गर्न आफू तथा सिंगो महानगरपालिका प्रयासरत रहेको नगर प्रमुख वडले दाबी गरे।

धनगढीमा वडा नम्बर २ र ३ मात्रै होइन वडा नम्बर १, ४, ५, ७ र ८ मा पनि डुबानको समस्या रहेको छ। नगर क्षेत्रमा डुबान बढ्नुको कारण नगर विकासले जथाभावी जग्गा बिक्री गरिनु तथा उपमहानगरपालिकाले सोही जग्गामा घरको नक्सा पास गर्नुु रहेको दाबी गरिएको छ। 

मेयर वडले धनगढीमा खोलानाला अतिक्रमणका कारण डुबानको समस्या बढेको बताउँदै असोजदेखि अतिक्रमण हटाउन डोजर चलाउने र खोलानालाको जग्गामा वितरण गरिएका जग्गाको लालपुर्जा खारेज गर्ने बताउँदै आएका छन्।

कमेन्ट लोड गर्नुस