सुदूर नेपाललाई विश्वसँग जोड्दै

जसपाको विधान पारित

२०७८ साउन ५, ०८:०३ रासस

काठमाडौँ: जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको बैठकले पार्टीको विधान पारित गरेको छ। 

सिंहदरबारमा आज भएको बैठकले सर्वसम्मत रुपमा पार्टीको विधान पारित गरेको हो। बैठकले मन्त्रिमण्डलमा सहभागी हुनेको नाम भने अर्को बैठकले टुङ्गो लगाउने निर्णय पनि गरेको छ। जसपाका कार्यकारिणी समितिका सदस्य एवं सांसद मोहम्मद इस्तियाक राईका अनुसार बैठकमा ‘सङ्घीय संसदीय दलको विधान–२०७८’ को मस्यौदा प्रस्तुत भई छलफलमा सदस्यबाट आएको सुझावलाई समेत समावेश गरी विधान पारित भएको छ।

यस्तै, बैठकले प्राप्त सुझावलाई समावेश गर्न सांसदद्वय रामसहाय प्रसाद यादव र राईलाई जिम्मेवारी दिएको छ। उक्त विधानलाई अनुमोदनका लागि पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा पठाउने निर्णय गरिएको छ। संसदीय दलको बैठकमा २२ सांसदको उपस्थिति थियो। जसपाको प्रतिनिधि सभामा ३२ सांसद छन्।

जसपाको संसदीय दल बैठकमा अध्यक्ष उपेन्द्र यादव पक्षमा बहुमत सांसद रहेका छन्। यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सत्ता समीकरणका बेला जसपा दुई समूहमा विभाजन भएको थियो। तथापि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदा जसपाको दुवै पक्षले मत दिएको थियो। जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कतिपय सांसद यादव समूहमा आएका  थिए। 

जसपाको पार्टी आधिकारिकताको विवाद भने निर्वाचन आयोगमा अड्किएको छ। आयोगले दुवै पक्षको कागजात झिकाएर आवश्यक छलफल गरेर निर्णय लिने बताइएको छ। दुवै पक्षले पार्टी आधिकारिकताका लागि दाबी गरेपछि आयोगले इजलास गठन गरेर पार्टी आधिकारिकताको निष्कर्ष निकाल्ने जनाएको थियो। उक्त सम्बन्धमा साउन ३ गतेदेखि छलफल चलिरहेको छ। आयोगको निर्णयपछि यादव पक्ष सरकारमा सहभागी हुने बताइएको छ। 

कमेन्ट लोड गर्नुस