सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री देउवासँग नागरिक समाज डडेल्धुराको ११ बुँदे माग

२०७८ साउन ५, ०३:१८ खबर संवाददाता

डडेल्धुरा: नागरिक समाज डडेल्धुराले प्रधानमन्त्री शेर बहादुर देउवालाई ११ बुँदे ज्ञापन पत्र बुझाएको छ।

पाँचौ पटक प्रधानमन्त्री भएका देउवालाई जिल्लाको समग्र विकासको लागि जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाएको नागरिक समाज डडेल्धुराका संयोजक रमेशप्रसाद जोशीले बताएका छन्।

कोरोना भाइरस विरुद्धको खोप, डडेल्धुरामा मेडिकल कलेज सञ्चालन, डडेल्धुरा बहुमुखी क्याम्पसलाई प्राविधिक क्याम्पसका रुपमा विकास लगायतका ११ बुँदे  माग राखिएको हो। 

यी हुन् माग:

१– विश्वव्यापी रूपमा फैलिएको महामारी कोरोना भाइरसले आक्रान्त नेपालीहरूलाई कम्तीमा६ महिनाभित्र १८ वर्ष माथिका सबै नागरिकलाई खोपको व्यवस्था गरी कोभिड जाँच तथा उपचार निःशुल्क रूपमा गर्ने व्यवस्था गरियोस् साथै महामारी प्रभावितलाई राहत मुखी कार्यक्रमतर्फ ध्यान जाओस् । 

२.कोरोनाका कारणले मानवीय, तथा आर्थिक सङ्कट व्यहोर्न बाध्य नेपाली नागरिकलाई थप सास्ती दिन अघिल्लो सरकारले सार्वजनिक यातायातमा बढाएको भाडा दर अव्यवहारिक भएको आमजनगुनासाहरु व्याप्त भई रहेका बेला वर्तमान सरकारले वृद्धि भएको भाडा घटाई उचित व्यवस्थापन सहित आम नागरिकलाई राहत हुने व्यवस्था गरियोस् ।

३.सुदूरपश्चिमप्रदेशको सात पहाडी जिल्लाको एक मात्र भरपर्दा स्वास्थ्य संस्था डडेलधुरा अस्पताल डडेलधुरालाई स्तरोन्नति गरी मेडिकल कलेजको रूपमा विकास र बिस्तार गरी सुदूर पश्चिमवासीलाई सहज सुलभ स्वास्थ्य सुविधा प्रदान गर्ने गरी जनताको मौलिक अधिकार सुनिश्चित गरियोस् । 

४.डडेलधुरा बहुमुखी क्याम्पसलाई आवश्यक व्यवस्थापन सहित प्राविधिक शिक्षालय स्थापना, थप विषय अध्ययनका साथै भिमदत्त बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा विकास र बिस्तारका लागि अविलम्ब पहल गरियोस् । 

५. सुदूरपश्चिमप्रदेशको केन्द्र रहेको डडेलधुरा सदरमुकामलाई व्यवस्थित शहर निर्माण सँगै मुख्य बजार क्षेत्रलाई क्षतिपूर्ति व्यवस्थापन गरी सडक चौडा सहित राजमार्गको स्तरोन्नति गरियोस् ।

६. डडेलधुराका सबै स्थानीयता जोडने मुख्य ग्रामीण सडकहरू कालो पत्रे सहित आवश्यक पूर्वाधार निर्माण गरियोस् । 

७.सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय स्थललाई पर्यटन क्षेत्र घोषणा गरी डडेलधुराको सुन्दर भविष्य कोर्ने भनिएको विमान स्थल निर्माण, महाभारत पर्वत शृङ्खलालाई निकुञ्ज घोषणा वा पर्यटकीय ट्रेकिङ, धार्मिक, पुरातात्त्विक, ऐतिहासिक र प्राकृतिक क्षेत्रमा संरक्षित पर्यटन पूर्वाधार निर्माण गरी डडेलधुरालाई पर्यटन हबको रुपमाविकास गरिनु पर्ने । 

८.डडेलधुरा जिल्लाको भित्री मधेस परशुराम क्षेत्रमा रहेको साबिक भन्सार कार्यालयको पुनर्स्थापना तथा रुपालको सीमावर्ती क्षेत्रमा छोटी भन्सार स्थापना गरी नागरिक जीवनलाई सहज र सुविधा जनक बनाउन आवश्यक पहल गरियोस् । 

९.लामो समय देखि चर्चामा रहेको तर सार्थक कार्यान्वयनमा आउन नसकेको बहुचर्चित पश्चिम सेती बहुउद्देश्यीय जलविद्युत परियोजनाको सार्थकताका लागि यथाशीघ्र काम अगाडी बढाईयोस । 

१०.विगत केही समय यता मुलुकमा दैनिक उपभोग्य बस्तु, इन्धनलगायत सेवा सुविधामा अप्रत्याशित  र अव्यवहारिक रूपमा मूल्य वृद्धि भए पछि आम नागरिकको दैनिकी जीवनयापनमा कठिनाइ भइरहेकोले मूल्य वृद्धि नियन्त्रण एवं प्रभावकारी नियमन गरियोस् । 

११. देशमा व्याप्त बेरोजगारी न्यूनीकरणका लागि व्यावसायिक कृषि पर्यटन उद्यम प्रवर्द्धन गरी सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण लगायत मानवअधिकारको रक्षा, अपराध नियन्त्रण लगायत बेथिति र विसङ्गतिको अन्त्य गर्न सरकारबाट ठोस प्रयास गरियोस् भन्ने आम डडेल्धुराबासीको अपेक्षा रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

कमेन्ट लोड गर्नुस