सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली-कञ्चनपुरका राजमार्गमा सवारीसाधन भन्दा छाडा चौपाया बढी

२०७८ साउन २, ०४:२८ विन्दु चन्द

धनगढीः शुक्रबार मात्रै कैलालीमा छाडा पशु चौपायासँग ठोक्किदा मोटरसाइल चालकको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका ६ गुलरास्थित पूर्व–पश्चिम राजमार्गमा से३प ५९५४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जोशीपुर गाउँपालिका–२ का २६ वर्षीय पदम चौधरीको ज्यान गएको हो।

बुधबार गड्डाचौकी जोड्ने पूर्व–पश्चिम राजमार्गस्थित दोदा नदी नजिक एक गाई सवारी साधनको ठक्करबाट मरेको थियो। झलारी बजार नजिक्कै एक गाई गाडीकै ठक्करबाट घाइते अवस्थामा नाली नजिक छाडिएको थियो। 
यस्तै मोहना पुल ६ लेन सडकको गेटा मनेहरा पुल नजिक पनि एक गाईलाई ठक्कर दिएर खुट््टा अलग–अलग पारीएको अवस्थामा सडक किनारमा छाडिएको थियो। 

यस्तै बिहीबार पनि कञ्चनपुरकै बेदकोट नगरपालिकाको कार्यालय नजिकै गाईलाई ठक्कर दिएर घाइते बनाइएको थियो। महेन्द्र बजार नजिकै २ कुकुरलाई ठूलो सवारी साधनले किचेर मारिएको थियो भने, १ गाई घाइते अवस्थामा थियो। 

यी उदाहरण मात्रै हुन्। पछिल्लो समय पूर्व–पश्चिम राजमार्गमा सवारी साधनहरु भन्दा छाडा चौपायाहरु बढी देखिन तथालेका छन्। जसकारण दुर्घटनाको जोखिम बढेको छ। 

राजमार्गहरुमा छाडा चौपायाका कारण दैनिक सवारी दुर्घटना भइरहेका छन्। मोहनापुल अत्तररिया ६ लेन सडक हुँदै चिसापानी कञ्चनपुर जोड्ने पूर्व–पश्चिम राजमार्गमा हरेक दिन सवारी साधनको ठक्करबाट चौपाया मर्ने गरेका छन् भने थुप्रै चौपाया घाइते समेत हुने गरेका छन्।

कैलाली र कञ्चनपुरस्थित उपमहानगरपालिका र नगरपालिकाहरुले छाडा चौपाया व्यवस्थापनका लागि करोड रकम खर्चेर गौशाला निर्माण गरेको छ। तर छाडा चौपाया भने हजारौँको संख्यामा सडकहरुमा देखिने गरेका छन्। 
रातिको समयमा खाली सडकमा छाडा चौपायाहरु बसिरहेका हुन्छन्। तीव्र गतिमा चल्ने साना तथा ठुला सवारी साधनको ठक्करबाट थुप्रै चौपाया मर्ने गरेका छन् भने कयौं घाइते समेत भइरहेका छन्। 

बेदकोट नगरपालिका अगाडि रहेको पुलमा कम्तीमा ३० बढी छाडा चौपायाहरु बसिरहन्छन्। उक्त पुल गोबरले लतपतिएको देखिन्छ। तर चौपाया व्यवस्थापनकै लागि लाखौँ खर्चेर गौशाला निर्माण गरेको बेदकोट नगरपालिका त्यो दृश्य हेरिरहन्छ। 

सोही पुलमा गाडीको ठक्करबाटै एक सातामा कम्तीमा ५/६ वटा गाईका बच्चाहरु मारिएको स्थानीयले बताए। यस्तै धेरै चौपाया घाइते समेत भएको स्थानीय बताउँछन्। 

बेदकोट नगरपालिकाले सामुदायिक छाडा चौपाया व्यवस्थापनका लागि चुरेपानीमा गौशाला निर्माण गरेको छ। उक्त गौशालामा कम्तीमा ३ सय जति छाडा चौपाया राखिएको नगरपालिकाका मेयर अशोककुमार चन्दले बताए। उनले भने, ‘हामीले छाडा चौपायाको व्यवस्थापनका लागि गौशाला निर्माण गरेका छौँ। केही समय यता फेरि थुप्रै गाईहरु सडकमा देखिरहेका छन्।’  

उनले पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने बेदकोट नगरपालिकाको वडा नम्बर १, ३, ६, ७, ९ र १० का वडा अध्यक्ष र सचिवलाई छाडा चौपायालाई व्यवस्थित रुपमा गौशालामा लगेर व्यवस्थापन गर्न पत्राचार गरिसकेको समेत बताए। साथै मेयर चन्दले १/२ दिन दिनभित्रै सबै गाईहरुलाई गौशालामा लैजाने प्रतिवद्धता जनाएका छन्।

नागरिकहरुले दुध हुन्जेलसम्म गाई पाल्ने र त्यसपछि छोडिदिने प्रवृतिका कारण सडकमा चौपायाहरुको बाक्लो भीड हुने गरेको बताइएको छ। 

       


 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस