सुदूर नेपाललाई विश्वसँग जोड्दै

विजयसाल संरक्षणमा टेवा पु-याउँदै कञ्चनपुरका सामुदायिक वन

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १, ०६:०९ रासस

कञ्चनपुर:  बहुऔषधीय गुण भएका विजयसाल जोगाउनका लागि कञ्चनपुरका सामुदायिक वनका उपभोक्ता संरक्षणमा जुटेका छन्। लोपोन्मुख अवस्थामा पुगेका विजयसाल जोगाउनका लागि यहाँका सामुदायिक वनका उभोक्ताले विगत एक दशकदेखि अभियान नै सञ्चालन गरेका हुन्।

उपभोक्ताले वन क्षेत्रमा प्राकृतिकरुपमा रहेका रुखको संरक्षण गर्ने कार्यसँगै नयाँ बिरुवा उत्पादन गरी रोप्ने कार्य गर्दै आएका छन्। सामुदायिक वनले वन क्षेत्रमा नमूना प्लट निर्माण गरी विजयसाल संरक्षण गर्दै आएको जिल्ला सामुदायिक वन समन्वय समितिका सचिव नरेशराज भट्टले बताए।

उनका अनुसार कृष्णपुर नगरपालिकास्थित जयलक्ष्मी सामुदयिक वनले १५ हेक्टर, जनहित महाकालीले २५ हेक्टर, समैजी सामुदायिक वनले २२ हेक्टर, दिपेन्द्र स्मृति सामुदायिक वनले पाँच हेक्टर क्षेत्रफलमा विजयसालका नमूना प्लट निर्माण गरेका छन्। प्राकृतिकरुपमा वन क्षेत्रमा रहेका विजयसालका रुख र बिरुवा जोगाउनका लागि अन्य सामुदायिक वनलेसमेत संरक्षणमा उत्तिकै चासो राखेका छन्। “सामुदायिक वनमा अहिले विजयसालका बिरुवा हुर्कंदै जान थालेका छन्”, उनले भने, “वन क्षेत्रमा देखिन छाडेका विजयसाल पुनः उत्पादन हुन थालेको छ। जसबाट वन संरक्षणकर्मी उत्साहित भएका छन्।” विजयसाल संरक्षणमा टेवा पु¥याउनका लागि सामुदायिक वनमा खुला चरिचरन पूर्णरुपमा निषेध गरिएको छ।

“चरिचरन निषेध गरिएपछि विजयसाललगायत बहुमूल्य जडीबुटी र बिरुवा जोगिएका छन्”, महाकाली जनहित सामुदायिक वनका अध्यक्ष हरिराम डगौराले भने, “पुरानै अवस्थामा वन क्षेत्रलाई हराभरा बनाउन पाउँदा संरक्षणको कार्यमा उत्साह थपिएको छ।” विजयसाल तराईको कञ्चनपुरदेखि कपिलवस्तुसम्म वर्षौं पहिलेसम्म पाइने गरेको थियो। हाल विजयसाल सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा मात्रै पाइने गरेको छ।

विजयसाल लोपोन्मुख अवस्थामा पुगेपछि विसं २०६४ देखि यहाँका सामुदायिक वनले संरक्षणको कार्यलाई अगाडि बढाएका हुन्। एउटा सामुदायिक वनबाट थालिएको विजयसाल जोगाउने अभियान हाल २५ बढी सामुदायिक वनसम्म पुगेको छ।

विजयसाल जोगाउन सामुदायिक वनका पदाधिकारी र उपभोक्ताले संरक्षणको कार्यसँगै पुनःउत्पादन, वृक्षरोपणको कार्यलाई अगाडि बढाउँदै आएका छन्। यससँगै विजयसालको औषधीय गुणका बारेमा जनचेतनाका माध्यमबाट जानकारी दिइ संरक्षणका कार्यलाई अगाडि बढाइँदै आएको जयलक्ष्मी सामुदायिक वनका अध्यक्ष लीलादेवी चौधरीले बताए ।
 

“विगतमा विजयसालको महत्व थाहा नपाउँदा गाईबस्तुका लागि खुवाउनका लागि रुख नै काट्ने कार्य गरिँदै आएको थियो”, उनले भने, “गाईगोरुले विजयसालको घाँस निकै मन पराउने हुँदा रुख नै विनाश भए।” परम्परागतरुपमा विजयसाल औषधिका रुपमा प्रयोग हुँदै आएको भए पनि त्यसलाई महत्व नदिँदा लोपोन्मुख अवस्थामा पु¥याइएको उनले बताए।

“हाल यसको महत्व बुझ्यौँ”, उनले भने,“संरक्षण गर्दै आएका छौँ। विजयसालका माउ रुखबाट बीउ सङ्कलन गरी नर्सरी बनाई बिरुवासमेत उत्पादन गरी अन्य सामुदायिक वनमा रोप्नका लागि उपलब्ध गराउने कार्यसमेत हुँदै आएको छ।”

कमेन्ट लोड गर्नुस