सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशमा लागुऔषध प्रयोगकर्ता पक्राउ पर्छन, कारोबारीलाई उन्मुक्ति

२०७८ असार ३१, ०७:०६ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष २०७७/०७८ को जेठ मसान्तसम्म ३ सय ४३ जना लागुऔषध प्रयोगकर्तालाई प्रहरीले पक्राउ गरेको छ। कैलाली र कञ्चनपुरमा प्रयोगकर्ता सबैभन्दा धेरै पक्राउ परेका छन्। कञ्चनपुरमा एक सय ९६ जना पक्राउ परेका छन् भने कैलालीमा एक सय २७ जना पक्राउ परेका छन्। 

प्रदेश प्रहरीका अनुसार उनीहरुमा कारोबारीको संख्या न्यून छ। प्रयोगकर्तामा १६/१७ वर्षको उमेर समूहका युवाहरु बढी रहेका प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक भरतबहादुर चौधरीले बताए। 

प्रदेश प्रहरीको तथ्यांक अनुसार २ सय २१ मुद्दा लागुऔषध सम्बन्धीका छन्। चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ती मुद्दा दर्ता भएका हुन्। कञ्चनपुरमा १ सय २० मुद्दा दर्ता भएका छन्। यस्तै कैलालीमा ८३ मुद्दा दर्ता भएका छन्। 

लागुऔषध प्रयोगकर्ताहरुलाई प्रहरीले पक्राउ गर्दै मुद्दा चलाउदै आएको छ। तर कारोबारीहरुलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन। कारोबारी पक्राउ नपरेकाले लागुऔषधको जालो भत्काउन भने प्रहरी असफल देखिएको छ। तर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले कारोबारी र प्रयोगकर्ता एकै हुने गरेको बताए। उनले कारोबारीहरुले नै लागुऔषधको बिक्रि वितरण गर्दै आएको बताए। 

प्रहरीको अनुसन्धानले पनि सुदूरपश्चिमका सबै क्षेत्रमा लागुऔषधको जालो फिजिएको देखाएको छ। सहरदेखि ग्रामीण क्षेत्रसम्म लागुऔषधको समस्या विकराल बन्दै गएको छ। तर प्रदेश प्रहरी खुला सीमालाई लागुऔषध दुव्र्यसनको कारण देखाउदै आएको छ। प्रहरीले भारतीय बजारबाट प्रयोगकर्ताहरुले लागुऔषध खरिद गर्ने भएकाले समस्या हुने गरेको बताएको छ।

कञ्चनपुरमा ७ र कैलालीमा २ मुद्दा भारतीय नागरिकबिरुद्द छन्। त्यसैले सीमावर्ती भारतीय बजारबाट ब्राउन सुगर र ट्याबलेटको ओसारपसार बढ्दो क्रममा रहेको प्रहरीको दाबी छ। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस