सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री देउवाको जन्मघर, जसमा तत्कालीन विद्रोही पक्षले आगो लगाएका थिए

२०७८ असार ३०, १२:५३ खबर संवाददाता

धनगढी: मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्। संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।

देउवाले मंगलबार अबेर साँझ नै पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन्। डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा जन्मेका शेरबहादुर देउवा पाँचौं पटक देशको प्रधानमन्त्री बनेका हुन। यसअघि उनी २०५२, २०५८, २०६१ र २०७४ सालमा प्रधानमन्त्री बनिसकेका थिए।

गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको मटेला गाउँस्थित एक घरमा देउवाको जन्म विस २००३ जेठ ३१ गते भएको थियो। तत्कालीन अवस्थामा त्यो असिग्राम गाविस थियो।

देउवाको जन्मथलो जिल्ला सदरमुकाम बागबजारदेखि २० किलोमिटरको दुरीमा दक्षिण पूर्वतर्फ पर्छ। सुदूरपश्चिमका सात वटा पहाडी जिल्ला जोड्ने एक मात्रै राजमार्ग भिमदत्त राजमार्ग खण्डको शाहुखर्क–भातकाँडा भन्दा पूर्वतर्फ उत्तरतिर बग्ने रुवाखोला हो।  यही रुवाखोलाको पनि पूर्वतर्फ मटेला गाँउ छ। 

रुवाखोलासम्म भातकाँडा र शाहुखर्कबाट सडक खनिएको छ। भातकाँडादेखि रुवाखोलासम्म करिब १० किलोमिटर छ। 

मटेलास्थित देउवाको जन्मघर अहिले भत्किएको अवस्थामा छ। २०५८ साल बैशाखदेखि यस्तै अवस्थामा छ। २०५८ बैशाख ४ गते देउवाका दाजुभाइलाई तत्कालीन बिद्रोही माओवादीले घरबाट निकालेका थिए र ८ गते घरमा आगजनी गरेका थिए। त्यसयता सामान्य मर्मत नगर्दा घरको भग्नावशेष मात्र बाँकी छ।

उक्त भत्किएको घर पुनः निर्माणका लागि यस पटक पहल गर्ने गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्ले बताए। ‘ऐतिहासिक उक्त घर मर्मत तथा पुनः निर्माणका लागि अब उहाँलाई आग्रह गर्छु। यसपटक उक्त घर निर्माण हुन्छ’ उनले भने। 

नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा २०४८ सालयताका सबै संसदीय निर्वाचनमा डडेल्धुराबाट विजयी हुँदै आएका छन्।

कमेन्ट लोड गर्नुस