सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस डडेल्धुराको सभापतिमा संस्थापन इतरको तर्फबाट ठकुराठीको दाबेदारी

२०७८ असार २८, १२:५५ खबर संवाददाता

धनगढीः नेपाली कांग्रेसको आसन्न महाअधिवेशनको मिति नजिकिँदै गर्दा डडेल्धुराको सभापतिका लागि विभिन्न व्यक्तिहरुले रुचि राखिरहेका छन्। 

कांग्रेसको कार्यतालिका अनुसार साउन १२ गतेदेखि वडा तहको अधिवेशन सुरु हुनेछ। त्यसपछि १६ साउनमा स्थानीय तह, २० साउनमा प्रदेश सभा, क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एवं जिल्लाको अधिवेशन हुनेछ।

एकभन्दा बढी निर्वाचन क्षेत्रहरू भएका जिल्लाको अधिवेशन २६ साउनमा हुनेछ भने भदौ १ र २ गते सातै प्रदेशको अधिवेशन हुनेछ। र, अन्त्यमा भदौ १६–१९ गते काठमाडौंमा १४औं महाधिवेशन हुने तालिकामा उल्लेख छ।

सोही अनुसार पार्टी सभापति शेरबहादुर देउवाको जिल्लामा पनि जिल्ला सभापति बन्ने आकांक्षीहरु अघि सर्दैछन्। डडेल्धुरामा अहिले सभापतिको दौडमा ८ जनाको चर्चा भइरहेको छ। 

भीमबहादुर साउदसँगै जिल्ला सभापतीका लागि करुणकर भट्ट, नवलबहादुर मल्ल, तारक बुढाऐर, भरत नेपाली, हरि प्रसाद भट्ट, मोहनराज पाठकले यसअघि नै प्रस्तुत गरेका थिए। तर पछिल्लो समय डडेल्धुराको जिल्ला सभापतिका लागि चुडामणी ठकुराठीले पनि आफ्नो दावेदारी पेश गरिरहेका छन्। 

जिल्लाको अजयमेरु गाउँपालिका वडा नम्बर ५ का ठकुराठी नेपाली कांग्रेसको सक्रिय राजनीतिमा २०५१ सालदेखि लागेको बताउँछन्। विद्यार्थी राजनीतिदेखि संक्रिय उनले जनताको लागि र सेवाको लागि आफूले जिल्ला सभापतीको दाबेदारी प्रस्तुत गरेको बताएका छन्। 

संस्थापन इतरको तर्फबाट आफूलाई सभापतिको लाइनमा उभ्याएका उनले अहिलेको नेतृत्वले पार्टीलाई सिद्धान्तबीहिन बनाएको आरोप लगाए। भीमबहादुर साउदलाई आर्थिक रुपमा बलियो देखेर नेतृत्वले अगाडी सारेको भएपनि आम कार्यकर्ताले सक्षम व्यक्तिलाई चुन्नुपर्ने धारणा उनको छ।

२०६७/७८ मा नेविसंघका सदस्य समेत रहेका चुडामणी ठकुराठीले सह–अस्तित्वको आधारमा पार्टी संञ्चालन गर्ने, पारदर्शी मुल्याङ्कन गर्ने तथा योग्यता अनुसार कार्यकर्ताहरुलाई उचित स्थान दिने योजना भएको जनाए। सहमति, सहकार्य र एकताको आधारमा आफ्नो पार्टीसँग सम्बन्धित संगठनहरुलाई पनि चलायमान बनाउने सोच उनको छ। 

राजनीतिशास्त्र, जनप्रशासन तथा कानूनमा डिग्री पास गरेर उनले यस अगाडि पनि गाउँपालिकाको अध्यक्षका लागि दावी गरेका थिए। हालसम्म पार्टी नेतृत्वले क्षमतावान नेता कार्यकर्तालाइ चिन्न नसक्दा नेपानी कांग्रेस कमजोर भएको उनको धारणा छ। 
 

कमेन्ट लोड गर्नुस