सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मुख्यमन्त्री कार्यालय अगाडि बादी समुदायबीच किन भयो कुटाकुट ?

२०७८ असार २८, १०:२७ खबर संवाददाता

धनगढी : आइतबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि बादी समुदायबीच एकआपसमा कुटाकुट नै भयो। बादी उत्थान समितिकी सुदूरपश्चिम अध्यक्ष रमा बादीको समूह र मिठ्ठु बादीको समूहबीच कुटाकुट भएको थियो।

बादी उत्थान समिति सुदूरपश्चिमकी अध्यक्ष रमादेवी बादीका अनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि छुट्याएको तीन करोड रकम दुरुपयोग हुने आशंका बढेकोले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाइएको बताइन्।

‘विगतका वर्षमा विनियोजन भएको रकम पनि दुरुपयोग भएको थियो। आगामी वर्ष पनि त्यस्तै अवस्था सृजना नहोस भन्नका लागि ज्ञापन पत्र बुझाएका हौँ। मुख्यमन्त्रीको कार्यालय अगाडि नै मिठ्ठु बादीको समूहले हामीमाथि एक्कासी आक्रमण ग¥यो,’ उनले भनिन्।

उनका अनुसार बादी उत्थान समितिका कोषाध्यक्ष सुवास रानाबादीमाथि कुटपिट भएको हो। कोषाध्यक्षमाथि लखेटीलखेटी कुटपिट भएको उनले बताइन्। उनले मिठ्ठु बादीको समूहले गत वर्ष १० लाख रुपैयाँ निकासा गरेर मनोमानी गरेको पनि आरोप लगाइन्। 

यता मिठ्ठु बादीको समूहले भने बादी समुदायको नाममा रमा बादीको समूहले मनोमानी गरेको भन्दै विरोध जनाएका छ। बादी अधिकार संघर्ष समिति सुदूरपश्चिमकी अध्यक्ष बताउँदै आएकी मिठ्ठुले भनिन्, ‘विगतमा हाम्रा लागि छुट्याएको बजेट हिनामिना गरियो। आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन भएपछि फेरि उनीहरु सक्रिय भएका छन्।’ 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि कुटाकुट भएपछि दुबै समूहबीच प्रहरीको राेहाेबरमा मिलापत्र भएको छ। आगामी दिनमा बजेटको विषयलाई लिएर विवाद नगर्ने सहमती भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बादी समुदायको हक, हितमा काम गर्ने भन्दै तीन करोड बजेट छुट्याएको छ। 
 

कमेन्ट लोड गर्नुस