सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थलमा गेटसहितको बगैँचा निर्माण कार्य एक वर्षदेखि अलपत्र

२०७८ असार २७, ०६:३० खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठूलो धनगढी विमानस्थलको प्रवेश मार्गमै स्वागत गेट निर्माणका लागि आर्थिक वर्ष २०७६/०७७ मा विस्तृत परियोजना प्रतिवेदन तयार गरियो। सुदूरपश्चिमका कला, संस्कृति र इतिहास झल्किने गरी स्वागतगेटसहित सुविधासम्पन्न बगैँचा, झण्डै ७ सय मिटर सडक निर्माणका लागि २ करोड लगानीसहितको डीपीआर तयार पारिएको थियो। तर गेट निर्माणको काम एक वर्षदेखि अलपत्र छ। 

सरकारी जग्गा व्यक्तिले कब्जा गरेर राखेका कारण विवाद भएको सरोकारवाला बताउँछन्। क्षेत्रिय सहरी विकास परियोजना(आरयूडीपी)ले गेट निर्माणका लागि १० लाख रकम उपलब्ध गराएपछि पहिलो वर्ष थोरै काम भएको थियो।

यस वर्ष रकम नै कहिकतैबाट नआएपछि निर्माणको काम अलपत्र परेको गेट निर्माण उपभोक्ता समितिका अध्यक्ष विनोद भण्डारी बताउँछन्। ‘पहिलो वर्ष १० लाख बजेट आएको थियो। यो वर्ष बजेट नै नआएपछि निर्माण कार्य नै अलपत्र परेको हो’ अध्यक्ष भण्डारीले भने। धनगढी विमानस्थल २ किलोमिटर सडक फुटेर काम नलाग्ने भइसक्दा पनि कसैको ध्यान जान नसकेको उनको गुनासो छ।

गेट वरिपरि सरकारी जग्गा अतिक्रमण गरेर खेती किसानी गरिँदै आएकोमा उक्त जमिन सडक र गेट प्रयोजनका लागि नापनक्सा भइसकेकाले निर्माणको काम जतिसक्दो छिटो अघि बढाउनुपर्ने माग स्थानीयको छ। 

अहिलेसम्म उपभोक्ता समितिमार्फत ११ लाख बराबरको काम भइसकेको छ। अतिक्रमित जमिनलाई खाली गराएर गेट निर्माणको कामलाई तीव्रता दिनुपर्ने बताउँदै धनगढी उपमहानगरपालिका वडा नम्वर १३ का अध्यक्ष विजयराज जोशीले नापनक्सा गरेर सबै जमिन गेट र सडक विस्तारका लागि छुटयाइएको भएपनि बजेट अभावका कारण काम हुन नसकेको बताए। ‘हामीले नगरपालिकासँग पनि पटक–पटक बजेटका लागि माग गर्दै आएका छौँ’ उनले भने।

निर्माणाधिन विमानस्थल गेट वरिपरि ठूलो क्षेत्रफल सरकारी जमिन अतिक्रमण गरेर भोगचलन गरिदै आएको छ। गेट निर्माण सुरु गर्नुभन्दा पहिला नै गेटले ओगट्ने क्षेत्रफल र सडकका लागि आवश्यक पर्ने जमिन नापनक्सा गरेर निर्माण सुरु गरिएको भएपनि गेटको दक्षिण र पूर्वतिर नापनक्सा गरिएकै जमिनमा पुनः धानखेती गरिएको छ। 

जमिन छुट्याएर गेट, बगैँचा र सडकको डिजाइन गरिएको भएपनि अतिक्रमित सरकारी जमिन उपमहानगरपालिकाले अझै प्रयोगमा ल्याउन सकेको छैन। यो वर्ष २० लाख रुपैयाँ बजेट नै विनियोजन भइसकेकाले दुरगामी प्रभाव पार्ने योजनालाई कार्यान्वयन गरेरै छाड्ने धनगढी उपमहानगरपालिकाका सहरी विकास तथा प्राविधिक शाखा प्रमुख द्धीजराज भट्टले बताए। ‘स्थानीयले सरकारी जमिन व्यापक रुपमा अतिक्रमण गरेर उपभोग गर्दै आएको पाइएको छ’ उनले भने, ‘सरकारी सबै जमिन गेट र सडक लगायत कार्यका लागि छिट्टै प्रयोगमा ल्याउँदैछौ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा ठूलो धावन मार्ग भएको धनगढी विमानस्थल प्रवेश मार्गमा सुदूरपश्चिमको कला, संस्कृति र इतिहास झल्किने गरी स्वागतगेट र गार्डेन निर्माण आन्तरिक एवं वाह्य पर्यटक आकर्षणका दृष्टिकोणले पनि उपयुक्त मानिन्छ।
 

कमेन्ट लोड गर्नुस