सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एक विद्यालयमा ३३ विद्यार्थी पढाउन ११ शिक्षक, नतिजा शून्य

२०८२ वैशाख ३१, ०७:३१ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढीमा एक विद्यालयका ३३ विद्यार्थीलाई ११ जना शिक्षकले पढाउदै आएका पाइएको छ।

धनगढी उपमहानगरपालिकामा–१३ राजपुरको जनता राष्ट्रिय आधारभूत विद्यालयमा एक शिक्षक बराबर तीन जना विद्यार्थी अनुपात रहेको पाइएको हो।

२०३७ सालमा खुलेको यो सामुदायिक विद्यालयमा दस वर्षयता यो वर्ष सबैभन्दा कम विद्यार्थी सङ्ख्या रहेको प्रधानाध्यापक रामप्रसाद फुलाराले बताए। स्थानीय अभिभावकले आफ्ना छोराछोरीहरूलाई विद्यालय भर्ना नगर्दा समस्या भएको उनले बताए। विद्यार्थी सङ्ख्या निकै कम हुँदा कक्षा १० सम्म सञ्चालित विद्यालयलाई गत वर्ष कक्षा ८ सम्म कायम गरिएको थियो। यो वर्ष झन विद्यार्थी सङ्ख्या घट्दा विद्यालयकै भविष्य जोखिममा रहेको प्रधानाध्यापक फुलाराले बताए।

स्थानीयको रोजाइमा अन्य विद्यालय

राना समुदायका बालबालिका पढ्ने यो विद्यालयमा भौतिक पूर्वाधार राम्रो छ। पर्याप्त खेल मैदान र खुला ठाउँ पनि छ। प्राथमिक तहमा चार जना शिक्षक स्थायी छन् भने दुई जना राहत शिक्षक कार्यरत छन्।

बालविकास कक्षाका लागि दुई जना शिक्षक छन्। निम्न माध्यमिक तहमा दुई जना राहत शिक्षक कार्यरत छन्। एक जना स्वयंसेवक शिक्षकसमेत राखिएको छ। विद्यालय वरिपरि घना बस्ती छ। तर, विद्यार्थी नै नआउँदा शिक्षकहरू हाजिर गर्न मात्रै विद्यालय आउने गरेको व्यवस्थापन समितिका अध्यक्ष मदनराज भट्टले बताए। उनले शिक्षकहरूकै कारण विद्यार्थी सङ्ख्या घटेको बताए। ‘विद्यालयमा ११ जना शिक्षक छन्। उहाँहरू एकले अर्काको भनेको मान्नुहुन्न। आपसमा मेलमिलाप पनि छैन,’ उनले भने, ‘शिक्षक नै हाजिर गर्न मात्रै विद्यालय आउने भएपछि गाउँलेहरूले बालबालिका अन्यत्र पठाउन थाले।’

राजपुर क्षेत्रका अभिभावकहरूले घर नजिकैको विद्यालयमा पढाइ राम्रो नहुँदा कैलाली गाउँकै जनता राष्ट्रिय माध्यमिक विद्यालय, गेटाको सरस्वती माध्यमिक विद्यालय र बोराडाँडीमा रहेको त्रिभुवन माध्यमिक विद्यालय पठाउने गरेको स्थानीय एक अभिभावकले बताए। विद्यालय व्यवस्थापन समिति गठनमा राजनीतिक प्रभाव परेकाले विद्यालय नै बन्द हुने अवस्थामा पुगेको उनको गुनासो छ।

राजनीतिक प्रभावले विद्यालय अस्तव्यस्त

गेटा गाउँ पञ्चायतका तत्कालीन प्रधानपञ्च छुट्टन रानाले २०३७ सालमा राजपुरको मध्य भागमा विद्यालय स्थापना गरेका हुन्। राना समुदायको बाक्लो बस्ती रहेकाले राना समुदायकै विद्यार्थीको सङ्ख्या उल्लेख्य हुने गरेको थियो।

तर, विगत १० वर्षदेखि विद्यालय व्यवस्थापन समितिमा राना समुदायको उपेक्षा गरिँदा विद्यार्थी सङ्ख्या ह्वात्तै घटेको प्रधानाध्यापक फुलाराको दाबी छ। व्यवस्थापन समिति, राजनीतिक दलका स्थानीय नेताहरूले विद्यालय व्यवस्थापन समिति गठनमा राजनीति गर्दा राना समुदाय व्यवस्थापन समितिको अध्यक्ष हुन नसकेको प्रधानाध्यापक फुलाराको भनाइ छ। विद्यालयमा अध्ययन गर्ने बालबालिकाका अभिभावक नै व्यवस्थापन समितिमा बस्न नपाउँदा त्यसको प्रभाव विद्यार्थी सङ्ख्यामा परेको ठम्याइ प्रधानाध्यापक फुलाराको छ।

यो वर्ष कक्षा ८ मा शून्य नतिजा, प्रयोगात्मकमै एनजी

शिक्षक सङ्ख्याको अनुपात विद्यार्थी सङ्ख्या नगण्य रहेको जनता राष्ट्रिय आधारभूत विद्यालय राजपुरबाट शैक्षिक सत्र २०८१ मा कक्षा ८ का ८ जना वार्षिक परीक्षामा सहभागी भएकामा नतिजा शून्य आएको छ।

अनिवार्य गणितमा भने तीन जना विद्यार्थीलाई प्रयोगात्मक परीक्षामै फेल गराइएको छ। सामान्यतया प्रयोगात्मक परीक्षामा विद्यार्थी अनुत्तीर्ण गर्न नहुने भए पनि गणितमा तीन जनालाई एनजी ग्रेड दिइएको छ। गणित पढाउने कक्षा शिक्षक अमरबहादुर बोहराले तीन जना विद्यार्थीलाई एनजी ग्रेड दिएका हुन्। उनीहरूले मौका परीक्षा दिए पनि आन्तरिक परीक्षामा एनजी आएकाले कक्षा ९ मा भर्ना हुन नपाउने स्थिति बनेको छ। आन्तरिक परीक्षाको नम्बर सुधार गर्न समेत विद्यालयले कुनै प्रक्रिया थालेको छैन। विषय शिक्षक बोहराले भने त्रुटिले तीन जना विद्यार्थीको गणितको आन्तरिक परीक्षामा एनजी ग्रेड आएको बताए। उनले शिक्षा महाशाखामा बुझेर अङ्क सच्याउने बताए।

कुन कक्षामा कति विद्यार्थी?

शैक्षिक सत्र २०८२ का लागि विद्यालयमा जम्मा ३३ जना विद्यार्थीले मात्रै नाम लेखाएका छन्। ११ जना शिक्षकले दिनभर ३३ जना बालबालिकालाई पढाउनुपर्ने अवस्था आएको छ।

यो वर्ष बालविकासमा जम्मा दुई जना बालबालिका भर्ना भएका छन्। विद्यालयमा बालविकास शिक्षक भने दुई जना छन्। यस्तै कक्षा एक र दुईमा एक/एक जना, तीन र चार कक्षामा समान दुई/दुई जना, कक्षा पाँचमा तीन जना, ६ मा दस जना, सातमा ७ जना तथा कक्षा आठमा जम्मा ५ जनाले नाम लेखाएको प्रधानाध्यापक फुलाराले बताए। तर, इमिस प्रणालीमा भने विद्यालयका केवल १५ जनाको मात्रै विवरण प्रविष्ट गराइएको छ।

 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस