सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले अपराधका घटनालाई नजरअन्दाज गरेको आरोप

२०७८ असार २७, ०५:३९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम सरकारले प्रदेशमा बढ्दै गरेका अपराधका घटनालाई नजरअन्दाज गरेको आरोप लागेको छ। आइतबारको प्रदेश सभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खड्काले यस्तो आरोप लगाएका हुन्।

उनले बढीरहेको अपराधमा प्रदेश सरकारले गहन तरिकाले अनुसन्धान अघि बढाउन नसकेको भन्दै जनता निराश भएको बताए। ‘भर्खरै डडेल्धुरामा अस्मिता धामीको हत्या भएको छ। त्यस घटनामा संलग्न व्यक्तिको पहिचान पनि गर्न सकिएको छैन’ उनले भने, ‘यस्ता दर्जनौँ हत्याका घटनामा प्रदेश सरकार चुकिरहेको छ।’

उनले प्रदेशको कैलाली र कञ्चनपुरमा लागुऔषध सेवनकर्ता तथा तस्करी बढीरहेको प्रति सरकारले ध्यान दिन नसकेको बताए। ‘सीमा नाकाबाट लागुऔषधको कारोबार भइरहेको छ। यसले प्रदेशलाई थप जोखिम पारिरहेको छ। यस्ता घटनाप्रति प्रदेश सरकार गम्भीर होस्’ उनले भने। 

यस्तै नेकपा एमालेका प्रदेश सभा सदस्य हर्कबहादुर कँुवरले विपद्मा ज्यान गुमाएका परिवार र घाइते भएका परिवारका पक्षमा प्रदेश सरकारले काम गर्न नसकेको आरोप लगाएका छन्। ‘बाजुरा, अछाममा तटबन्धका लागि बजेट गएपनि अन्य जिल्लाका बाढी प्रभावितहरूले क्षतिपूर्ति पाउन सकेका छैनन्’ उनले भने।
 

कमेन्ट लोड गर्नुस