सुदूरपश्चिमसहित देशभरका २७ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं: मनसुनी वायुको कारण आज शनिबार पनि देशका धेरै ठाउँमा बर्षाको सम्भावना छ। आज देशका धेरै ठाउँमा बर्षाको सम्भावना भए पनि तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।
आज पनि देशभर वर्षा जारी रहने भएकाले विभिन्न स्थानमा बाढी, डुबान तथा पहिरो जस्ता विपद् हुने जोखिम रहेको मौसमविद्ले बताएका छन्। यसै क्रममा बाढी पूर्वानुमान महाशाखाले आज विशेष गरी काठमाडौंसहित २७ जिल्लामा जोखिमपूर्ण बाढी आउने सम्भावना औंल्याउँदै सचेत रहन आग्रह गररेका छन्।
महाशाखका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, सखुंवासभा, ओखलढुंगा, मोरङ, खोटाङ, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काठमाडौं, नुवाकोट, रसुवा, लमजुङ, गोरखा, नवलपुर, सुर्खेत, रुकुमपश्चिम, जाजरकोट, कालिकोट, दैलेख, दार्चुला, बझाङ, कञ्चनपुर, कैलाली, डोटी, अछाम र डडेल्धुरामा आज बाढीको मध्यम जोखिम छ।
सूचनामा भनिएको छ, 'आज प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मध्यपहाडी तथा चुरे भई बहने केही स–साना सहायक नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाइराखौं।’

