सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका दुई दाजुभाइको रचनात्मक कला (भिडिओसहित)

२०७८ असार २६, ०२:३१ विन्दु चन्द

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ४ राजपुरका ताहिर खान र मनिस खान दुई दाजुभाई हुन्। उनीहरु कैलाली मोडेल स्कुलमा विज्ञान विषयमा अध्ययनरत छन्। दाई ताहिर खान १२ मा पढ्छन् भने मनिस ११ कक्षामा पढ्छन्। 

 

उनीहरुले युट्युव लगायत गुगलमा भिडिओ हेरेर विभिन्न रचनात्मक सामग्रीहरु बनाउँछन्। विज्ञान विषय लिएकै कारण विभिन्न प्रविधिका सामग्री बनाउन सिकेको उनीहरु बताउँछन्।  ‘त्यस्ता सामग्री बनाउन मनपर्छ। युट्युबमा भिडिओहरु हेरेर यी सामग्री बनाउन सिकेका हाैँ’ ताहिर भन्छन्, ‘विद्यालयमा प्रतिस्पर्धा हुन्थ्यो। त्यसकै लागि हामीहरुले पनि बनाएका हौँ।’ 

उक्त प्रतिस्पर्धामा ४ पटक प्रथम आएको उनीहरु बताउँछन्। ‘सबै विद्यार्थी साथीहरुले पनि राम्रो व्यवहार गर्छन्। सरहरुले पनि धेरै सपोर्ट र हौसला दिन्छन्। धेरै खुसी र गर्व लाग्छ’ भाई मनिसले भने।

उनीहरु ड्रोन, घर, हेलिकोप्टर, गाडी लगायतका विभिन्न सामग्रीहरु बनाउँछन्। आइसक्रिमको नटहरुबाट उनीहरुले घरहरुको डिजाइन गरेका छन्। 

आफूले बनाएको घर देखाउँदै ताहिर खान हाँस्दै भन्छन्, ‘पछि अध्ययन गरेर जागिर पाएपछि यस्तै घर बनाउँछौँ। यस्तै घरमा बस्ने मन छ।’ उनीहरुको इन्जिनियर बन्ने लक्ष्य छ। 

उनीहरुले एउटा ड्रोन निमार्ण गर्न १५ हजार बढी खर्च गरेका छन्। ‘ड्रोन बनाउन हामीलाई कम्तिमा पनि १५ दिन जति लाग्यो। निर्माण सामग्री यहाँ नपाएर भारतबाट मगायौँ’ मनिसले भने, ‘घरहरु बनाउन कम्तिमा पनि १ महिना भन्दा बढी लाग्यो।’ तर घरमा भने खर्च कम लागेको उनी बताउँछन्। 

३० वर्ष पहिले उनीहरुका आमा बुवा नेपाल आएका थिए। २ बिघा जमीन भाडामा लिएर खेतीपाती गरिरहेको उनीहरुकी आमा नासरीन खानले बताइन्। उनी छोराहरुको पढाई र उनीहरुको कला प्रति गर्व र खुसी महसुस गर्छिन्। वार्षिक ८० हजार भाडा तिरेर खेती गर्दै आएको नाजिर खान बताउँछिन्।  

उनले भनिन ‘तरकारी खेतीबाटै घर खर्च चलाइरहेका छाै। यसैबाट बच्चाहरुको पढाइ खर्च पनि जुटाउँछौँ। बच्चाहरुले जे बन्छौँ भन्यो त्यसका लागि हामी तयार छाै।’

नेपालमै बसेर काम गर्ने दुई दाजुभाईको इच्छा रहेको छ। ताहिर भन्छन्, ‘हामी यतै जन्मियाैँ, यतै हुक्र्यौँ।  हामीलाई यही बस्न मन छ। नर्सरीबाट नै कैलाली मोडेल स्कुलमा पढेका हौँ। हामी मेहनत गरेर पढाइ गर्छौँ। भोलि यही काम गर्ने इच्छा छ।’

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस