सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा कवर्डहल निर्माण अलपत्र

२०७५ कार्तिक १८, ११:२३

बाजुराको मार्तडीमा रहेको कवर्डहल निर्माण अलपत्र परेको छ । निर्माणकार्य अधुरै रहेको कवर्डहल निर्माणका लागि कतैबाट पहल नगरिँदा बीचमै अलपत्र परेको हो । सदरमुकाममा सामान्य खालको खेल मैदान समेत नहुँदा मालिका नमूना माविसँग गुहार गर्नुपर्ने बाध्यता छ । बहुउद्देश्यीय कवर्डहल भनेर नाम दिइएको भए पनि निर्माण बीचमै छोडिदा अढाइ वर्षदेखि अलपत्र परेको छ । विसं २०७३ मा तत्कालीन नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कवर्डहल निर्माणको शिलान्यास गरेका थिए भने तत्कालीन पोलिटव्यूरो सदस्य कर्णबहादुर थापाले निर्माणको अगुवाइ गरेका थिए । निर्वाचन क्षेत्र विकास कार्यक्रमकै ४५ लाख बजेट विनियोजन गरेर निर्माण शुरु गरिएको थियो । 

प्राविधिकले पुरै निर्माण गर्न एक करोड ९४ लाख लागत लाग्ने अनुमान गरेका थिए । बीचमा खेलकूद विकास परिषद्बाट ४० लाख रकम पनि लगानी भएको छ । तर त्यो बाहेक थप लगानी लगाउन कसैले पहल नगर्दा अलपत्र अवस्थामा पुगेको खेलकूद विकास समितिले जनाएको छ । वडीमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले भने निर्माणका लागि आफूसँग सहकार्य नभएको र जिम्मेवारी दिन खेलकूद समितिले चासो नदेखाएको कारण नगरपालिकाले लगानी नगरेको बताए । यो वर्ष २० लाख बजेट केन्द्रीय सरकारबाट छुट्याएर काम सञ्चालन गर्ने तयारी भइरहेको प्रतिनिधि सभा सदस्य लालबहादुर थापाले बताए । बीचमा केही समय निर्माण रोकिए पनि यो वर्षबाटै निर्माणको कामले गति लिने उनले जानकारी दिए । रासस

कमेन्ट लोड गर्नुस