सुदूर नेपाललाई विश्वसँग जोड्दै

मदन आश्रितको स्मृतिमा रक्तदान

२०८२ जेठ ३, ०५:०५

बझाङ: नेकपा (एमाले) का तत्कालीन महासचिव एवं जननेता मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवनराज आश्रितको ३२औँ स्मृति दिवसको अवसरमा बझाङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

नेकपा (एमाले) जिल्ला कमिटी बझाङको आयोजनामा जिल्ला अस्पताल बझाङमा आयोजित कार्यक्रममा १० जनाले रक्तदान गरेका छन्। थप ३० जना रक्तदातालाई आवश्यक परेको खण्डमा तत्काल उपलब्ध गराउनेगरी तयारी अवस्थामा राखिएको एमाले जिल्ला कमिटीले जनाएको छ। कार्यक्रममा एमाले जिल्ला अध्यक्ष दिलबहादुर भण्डारीले, कुनै पनि व्यक्तिले रगत अभावका कारण ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको बताए। 

उप–सचिव पंकज भण्डारीले रक्तदान मानव जीवनका लागि अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै अझै पनि समाजमा यसप्रति सकारात्मक सोचको कमी रहेकाले जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। त्यसैगरी, जिल्ला सचिव नयन बोहराले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्तले मुलुकमा लोकतान्त्रिक परिवर्तनको जग बसाएको भन्दै नेताहरूको योगदानलाई सम्झनु वर्तमान पुस्ताको दायित्व भएको उल्लेख गरे। 

कार्यक्रममा नेकपा एमालेका जिल्ला तहका नेता कार्यकर्ता, राष्ट्रिय युवा संघ नेपाल तथा अनेरास्ववियुका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कमेन्ट लोड गर्नुस