रेबिजबाट तीनको मृत्यु: सावधानी अपनाउन आग्रह

काभ्रेपलाञ्चोक: प्राणघातक रोग रेबिजबाट काभ्रेपलाञ्चोकमा तीन जनाको मृत्यु भएको छ। एक महीनाको अवधिमा जिल्लाको एकै गाउँका आठ वर्षीय बालकसहित तीनको मृत्यु भएको हो।
मृत्यु हुनेमा चौँरीदेउराली गाउँपालिका–६ का आठ वर्षीय सुशन पहरी, ४४ वर्षीय सुब्बा लामा र ८० वर्षीय तेजप्रसाद पन्त रहेका छन्। पहरीको गत वैशाख १० गते र अन्य दुईको गत चैत २९ गते उपचारका क्रममा मृत्यु भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।
यसैगरी २०७६ साल माघ १७ गते धुलिखेल नगरपालिका–४ का २२ वर्षीय राधाकृष्ण मगरको रेबिज रोगबाट मृत्यु भएको केन्द्रले जनाएको छ। मगरले ढलमा खसेको सानो कुकुरलाई निकाल्ने क्रममा टोकेपछि परीक्षणमा रेबिज पोजेटिभ देखिएको थियो। मृत्यु भएका चारै जनालाई कुकुरले टोकेका कारण रेबिज रोग लागेको थियो। रेबिजका कारण २०७७ मङ्सिरमा धुलिखेल–४ कै एक गाईकोसमेत मृत्यु भएको थियो। उक्त गाईलाई पनि सङ्क्रमित कुकुरले नै टोकेको थियो।
दुई महीनाअघि चौँरीदेउरालीमा रेबिजबाट मानिसको मृत्यु भएपछि केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ। केन्द्रले चौंरीदेउराली गाउँपालिकामा तीनको मृत्यु भएपछि, बनेपा नगरमा गत साल पुस तथा धुलिखेल नगरमा यही असार ८ गते सामुदायिक तथा छाडा कुकुरमा रेबिजको नमूना परीक्षण गरेको छ। नमूना परीक्षण गरिएका कुकुरमा रेबिजको भाइरस भेटिएपछि चौँरीदेउरालीमा यसविरुद्धको २०० भ्याक्सिन पठाइएको केन्द्रले जनाएको छ।
केन्द्रले प्राणघातक रोग रेबिजबाट मानिसको मृत्यु हुन थालेपछि जिल्लाका बनेपा, धुलिखेल र पनौती नगरपालिकामा गरेको सर्वेबाट सात हजार ५०० सामुदायिक तथा छाडा कुकुर रहेको जनाएको छ। यसमध्ये तीन हजार कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन लगाउँदै स्थायी बन्ध्याकरण गरिएको केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले बताए। उनले भने, “यी तीन नगरपालिकाको बाँकी कुकुरलाई क्रमशः भ्याक्सिन लगाउँदै बन्ध्याकरण गरिनेछ।” उनका अनुसार जिल्लाको १३ स्थानीय तहमा कुकुरको सर्वेगर्दै भ्याक्सिन तथा बन्ध्याकरण कार्यक्रम बिस्तार गर्दै लगिनेछ। सम्भावित जोखिम न्यूनीकरण गर्न हाल दुई हजार भ्याक्सिन केन्द्रमा ल्याइएको छ।
यसैबीच केन्द्रमा हाल सामुदायिक तथा छाडा कुकुरको स्थायी बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिएको छ। वाग्मती प्रदेशस्थित पशुपक्षी तथा मत्स्यविकास निर्देशनालाय हेटौँडाको सौजन्य तथा नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर (नार्क)को प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा १०० कुकुरलाई रेबिजविरुद्धको खोप तथा स्थायी बन्ध्याकरण गर्ने योजना छ। सामदायिक र छाडा कुकुरलाई रेबिजविरुद्धको खोप र स्थायी बन्ध्याकरण तथा रोगबारे जनचेतना फैलाउँदा रोगको न्यूनीकरण गर्न सकिने जनाइएको छ।

