सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागुऔषध गाँजा र ब्राउनसुगरसहित चार जना पक्राउ

२०७८ असार २५, ११:१४ रासस

लहान: प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र गाँजासहित प्रहरीले सिरहाबाट एकै दिन एक महिलासहित चार जनालाई पक्राउ गरेको छ। 

लागुऔषध गाँजा र स्पामो ट्याब्ललेटसहित प्रहरीले जिल्लाको धनगढीमाई नगरपालिका–११ नैनपुर निवासी ४५ वर्षीया नीला महतोलाई पक्राउ गरेको हो। गोप्य सूचनाका आधारमा गए राति खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा साढे छ किलो गाँजा र लागुऔषध ६०० स्पानो ट्याबलेट बरामद भएपछि महतोलाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

यस्तै गएराति नै लागुऔषध ब्राउनसुगर (खैरोहिरोइन)सहित प्रहरीले गोलबजार नगरपालिका–६ गुम्बाचोक निवासी राकेशकुमार लामालाई पक्राउ गरेको छ। लामाको साथबाट प्रहरीले २०० मिलिग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। 

इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको टोलीले घर नजिकैबाट लामालाई ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीको भनाइ छ। लामामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। त्यस्तै प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले बिहीबार साँझ लागुऔषधसहित जिल्लाको सखुवान्नकारकट्टि गाउँपालिका–४ खयरबोना निवासी सुनिल गिरीलाई पक्राउ गरेको छ। 

भारतीय बजारबाट फर्किँदै गरेका बेला जाँच गर्दा गिरीको साथबाट नोरफीन १४ एम्पुल, फेनारगन १४ एम्पुल, डाइजी ल्याब १४ लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ। यसैगरी प्रदेश नम्बर २ प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले गोलबजारबाट लागुऔषधसहित सप्तरीको बलानबिहुल गाउँपालिका घर भई सिरहाको धनगढीमाई नगरपालिका–१० निवासी २५ वर्षीय प्रवीण शर्मालाई पक्राउ गरेको जनाएको छ। 

शर्माको साथबाट  १०० पिस नाइट्रोभेट ट्याब्लेट बरामद भएको प्रहरीको कथन छ।

कमेन्ट लोड गर्नुस