सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थतन्त्रको आत्मविश्वास बढाउने मौद्रिक नीतिको तयारीमा छौँ: गभर्नर

२०७८ असार २५, ०५:३५ रासस

काठमाडौँ: नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आगामी मौद्रिक नीतिका विषयमा नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। 

सेजनका तर्फबाट आज गभर्नर महाप्रसाद अधिकारीलाई ३५बुँदे सुझाव दिइएको छ। सेजनले चालू आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको चरणमै कोभिड–१९ को दोस्रो लहरले अर्थतन्त्रलाई जटिल मोडको पु¥याएको भन्दै अर्थतन्त्रको पुनरत्थानलाई नै ध्यानमा राखेर नीति ल्याउन आग्रह गरेको छ। 

“चालू आवको मौद्रिक नीतिले कोरोना भाइरसबाट थलिएको अर्थतन्त्रलाई पुर्नजीवित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। राष्ट्र बैंकले लिएको नीतिका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ तर मौद्रिक नीति कार्यान्वयनको चरणमै दोस्रो लहरको कोरोना भाइरसको असर बढेपछि फेरि नेपालको अर्थतन्त्र जटिल मोडमा पुगेको छ”, सेजनले भनेको छ। 

कोरोनाबाट प्रभावित अर्थतन्त्रको पुनरउत्थान गर्न मौद्रिक नीति सामु चुनौती थपिएको उल्लेख गर्दै सेजनले वित्तीय क्षेत्रलाई स्थायित्व दिनुपर्ने र अर्कोतर्फ राहत दिनुपर्ने परस्पर विरोधी विषयलाई सन्तुलन गर्नुपर्ने चुनौती रहेको स्मरण गराएको छ।

गभर्नर अधिकारीले सेजनले यथार्थपरक सुझाव दिएको भन्दै धन्यवाद व्यक्त गरे। उनले आगामी मौद्रिक नीतिका विषयमा विभिन्न सरोकारवालासँग राष्ट्र बैंकले छलफल गरिरहेको तथा चालू आवको मौद्रिक नीतिले उद्योगी व्यवसायीसहित आम सर्वसाधारणलाई आत्मविश्वास मर्न नदिएको उल्लेख गरे। 

उनले आगामी मौद्रिक नीतिले पनि उद्योगी व्यवसायीसहित आम सर्वसाधारणको आत्मविश्वास बढाउने खालको नै ल्याउने जानकारी दिए। “चालू वर्षको मौद्रिक नीतिका कारण हामीले उद्योगी व्यवसायीको आत्मविश्वास मर्न दिएनौँ। हामीले सबै सरोकारवालासँग छलफल पनि गरिसकेका छौँ। उद्योगी व्यवसायीको आत्मविश्वास बढाउन नै कोसिस गर्नेछौँ”, उनले भने। 

सेजनका अध्यक्ष भीम गौतमले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउने गरी मौद्रिक नीति आउने विश्वास व्यक्त गरे। सो अवसरमा डेपुटी गभर्नरद्वय बमबहादुर मिश्र र निलम ढुङ्गाना, कार्यकारी निर्देशक एवम् प्रवक्ता देवकुमार ढकाललगायतको उपस्थिती थियो।
 

कमेन्ट लोड गर्नुस