सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा बढी भाडा लिने सवारी साधन कारबाहीमा

२०७८ असार २४, ०३:५८ रासस

डोटी: तोकिएको दरभन्दा बढी भाडा लिने सात सवारी साधनलाई जिल्ला प्रशासन कार्यालय डोटीले कारबाही गरेको छ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार निषेधाज्ञा उल्लंघन गर्ने तथा यात्रुहरुलाई टिकट नदिई बढी भाडा लिने चार जीप तथा तीन हायस गरी सात वटा सवारीसाधनलाई बिहीबार कारबाही गरिएको हो।

कारबाहीमा परेका सवारी साधनबाट ६ हजार ५०० जरिवाना लिइएको छ । जिल्लामा सञ्चालन भइरहेका सावरी साधनले बढी भाडा लिने गरेको गुनासो बढेपछि स्थानीय प्रशासनले छड्के अनुगमन शुरु गरेको छ।

दोस्रो लहरको कोरोना भाइरस महामारीका बेला यात्रु ठगिन थालेपछि छड्के अनुगमन शुरु गरी सावारीसाधन जाँच गर्न थालिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए । ‘कोरोनाको मौका छोपी यातायात सञ्चालकले यात्रु ठग्ने गरेको उजुरी आएपछि हामीले अनुगमन शुरु गरेका छौं, यात्रु ठग्नेलाई जरिवाना समेत तिराउन थालेका छौं,’ उनले भने।

डोटीमा कोरोना निषेधाज्ञा उल्लंघन गर्ने चार र यात्रुलाई टिकट नदिई बढी भाडा लिने तीन सवारी साधन कारबाहीमा परेका हुन्। यसैगरी डोटीबाट धनगढीका लागि छुट्ने केही सवारी साधनले तोकिएको प्रतिव्यक्ति भाडादर ५५० रहेकोमा एक हजार रुपैयाँसम्म भाडा लिंदै आएको गुनासो बढेको छ।

कमेन्ट लोड गर्नुस