सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा मेडिकल कलेजको निर्माण अन्तिम चरणमा

२०७८ असार २४, १२:१५ खबर संवाददाता

धनगढी: गेटा मेडिकल कलेजको निर्माण अन्तिम चरणमा पुगेको छ। ६ सय शय्याको अस्पताल र मेडिकल कलेजका लागि भवनलगायत २७ वटा पूर्वाधार संरचनाको निर्माण अन्तिम चरणमा पुगेको हो।

गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले भौतिक प्रगति ९० प्रतिशतभन्दा बढि पुगेको बताए। उनका अनुसार आवास भवनबाहेक अन्य संरचनाचको निर्माण भने ९५ प्रतिशतभन्दा बढि पुगेको छ।

‘संरचना निर्माणको काम असोज महिनाभित्रै सम्पन्न हुन्छ,’ उनले भने, ‘ यसै बर्षभित्र अस्पताल सञ्चालनको तयारी थियो। तर अहिलेसम्म सञ्चालनको प्रारुपबारे टुंगो लागेको छैन्।’ कुनै अवरोध नआए अबको एक वर्षभित्र मेडिकल कलेज सुरु हुने धारणा उनको छ। दरवन्दी स्वीकृती, उपकरण खरिद लगायतको प्रक्रिया अगाडि बढे छिट्टै अस्पताल सञ्चालन गर्न सकिने साउँदले बताए। 

तर सञ्चालनको प्रारुप तय नहुँदा सुदूरपश्चिम प्रदेशमा मेडिकल कलेज सञ्चालनमा ढिलाई हुने देखिएको छ। पञ्चायती व्यवस्थादेखि नै सुदूरपश्चिममा मेडिकल कलेज निर्माण हुने चर्चा थियो। तर गणतन्त्र स्थापना हुन अघिसम्म भने मेडिकल कलेजको निर्माणबारे अन्यौलता नै थियो। २०६६ मा तत्कालीन सरकारले गेटा मेडिकल कलेज निर्माणको घोषणा गर्दै बजेट विनियोजन गरेको थियो।

तर वन क्षेत्रमा मेडिकल कलेज निर्माण गर्नुपर्ने र वनले वर्षाैसम्म सहमति नदिएपछि मेडिकल कलेज निर्माणको प्रक्रिया पनि अगाडि बढेन। वातावरणीय प्रभाव मूल्यांकन र रूख कटान आदेशमा ढिलाइ हुँदा ०७३ पछि मात्रै मेडिकल कलेजको पूर्वाधार निर्माण सुरु भएको थियो।

२०७१ मै भवन निर्माणका लागि शिलान्यास भएकोमा ०७३ सालदेखि नै भौतिक संरचनाको निर्माणले तिव्रता पाएको थियो। 
 

कमेन्ट लोड गर्नुस