सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसमा वडास्तरदेखि नै योग्य नेतृत्व छानौँ: नेता सिंह

२०७८ असार २४, ०५:१६ रासस

काठमाडौँ: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा वडा स्तरदेखि नै योग्य नेतृत्व छान्नुपर्ने बताएका छन्। 

लोकतन्त्रका लागि हाम्रो अभियानले बुधबार यहाँ आयोजना गरेको ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन : नीति र नेतृत्वमा महिला’ विषयक बागमती र गण्डकी प्रदेशस्तरिय भर्चुअल अन्तरक्र्रियामा उनले पार्टीलाई बलियो बनाउन गाउँ तहदेखि नै योग्य नेतृत्व छनोट गर्नुपर्ने बताएका हुन्। 

नेता सिंहले आफू काठमाडौँको सभापति हुँदा पार्टीको जिल्ला सचिवदेखि तरुण दलको अध्यक्षसम्म महिलालाई बनाएको स्मरण गरे। नीति निर्माण गर्ने थलोमा महिला सहभागीता बलियो बनाउनुपर्ने उनको भनाइ थियो। केन्द्रीय सदस्य एनपी साउदले नेपालमा महिला आन्दोलनका कारण अहिले राज्यका विभिन्न अङ्ग र पार्टीमा महिलालाई ३३ प्रतिशत उपस्थितिको व्यवस्था गरिएको बताए। 

“महिलालाई जति सशक्तिकरण बनाउन सक्यो, त्यति नै देशको विकासमा सहयोग पुग्छ”, उनले भने। केन्द्रीय सदस्य रत्ना शेरचनले पार्टीको पदाधिकारीमा महिला प्रतिनिधित्व बढाउनुपर्ने बताए। प्रदेशसभा सदस्य राधा घलेले पार्टीको नेतृत्वमा महिलाको उपस्थिति गराउनका लागि महिलाहरु एकजुट भएर लाग्नुपर्ने उल्लेख गरे। 

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले नेपालको महिला आन्दोलनमा  मङ्गलादेवी सिंहको महत्वपूर्ण भूमिका रहेको बताए। पार्टीकी केन्द्रीय सदस्य एवम् कार्यक्रमकी संयोजक डा डिला सङ्ग्रौलाले संविधानले व्याख्या गरेको अधिकारलाई पार्टीले लागू गर्नुपर्ने बताइन्। 

“स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनुपर्ने व्यवस्था गरेजस्तै कांग्रेसभित्र पनि सभापति वा उपसभापति एक महिला हुनुपर्ने व्यवस्था गर्नुपर्छ”, उनले भनिन्। 

कमेन्ट लोड गर्नुस