सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिराेबाट पर्वतका १९ घरपरिवार विस्थापित

२०७८ असार २२, ०९:१३ रासस

पर्वतः पर्वत सदरमुकाम कुश्माबजारका १९ घरपरिवार बाढीपहिरोका कारण विस्थापित भएका छन्।

अविरल वर्षासँगै सोमवार राति आएको बाढीले कुश्मा नगरपालिका—४ जिरो किमी र नारायणस्थान वरपरका १९ घर जोखिममा परेका छन् । कुश्मा नगरपालिका—३ सल्यानबाट ठूलाठूला ढुङ्गा र गेग्रानसहितको पहिरो आउँदा स्थानीयवासीको घरआङ्गन पुरिएको छ।

मध्यपहाडी लोकमार्गमा समेत गेग्रानले भरिएको छ। भू तथा जलाधार व्यवस्थापन कार्यालय परिसर र बिरुवा नर्सरी पहिरोले पुरिएको छ। कुश्मा नगरपालिकाको अनुरोध अनुसार जिल्ला प्रशासन कार्यालयले तत्काल जोखिममा रहेका परिवारलाई स्थानान्तरण गर्ने र पहिरोको जोखिम न्यूनीकरणका लागि प्रदेश र सङ्घीय सरकारसँग सहयोग माग गरेको छ।

नगरप्रमुख रामचन्द्र जोशीले पहिरोको जोखिममा रहेका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने र यसको स्थायी समाधान खोज्नुपर्ने आवश्यकता औल्याए।

पहिरो क्षेत्रको स्थलगत अवलोकन गरेर जिल्ला प्रशासन कार्यालयमार्फत सङ्घीय र प्रदेश सरकारलाई यसको नियन्त्रणका लागि आवश्यक पहल गरिदिन अनुरोध गरिएको उनको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बस्तीमा जोखिम बढेकाासीलाई तत्काल सुरक्षित स्थानमा सार्ने र चेकड्याम बनाएर पहिरो नियन्त्रणको प्रयास गर्न यहाँका सम्बन्धित कार्यालयलाई अनुरोध गरिएको बताउँदै बाढीपहिरोले बस्तीमा ल्याएको ढुङ्गा र ग्रेगान पन्छाउन कुश्मा नगरपालिका, मध्यपहाडी लोकमार्ग र भू तथा जलाधार व्यवस्थापन कार्यालयलाई समन्वयात्मक ढङ्गले काम गर्न आग्रह गरिएको जानकारी दिए।

पहिरोले जिरोकिलो, पोखरी उप्री र डम्डारेखोला वरपरको बस्तीमा ठूलो क्षतिको जोखिम हुने भएकाले त्यस क्षेत्रका बासिन्दालाई सचेत रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ। पहिरोको दीर्घकालिन समाधान नगर्ने हो भने कुश्मादेखि गुप्तेश्वर गुफासम्मको बस्तीमा ठूलो क्षति हुन सक्ने अनुमान प्रमुख जिल्ला अधिकारी खत्रीको छ। 

कमेन्ट लोड गर्नुस