सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरपालिका योजना कार्यान्वयन गर्न असफल बन्दै

नाली र कालोपत्रे सडक निर्माणको काम अधुरै 

२०७८ असार २२, ०६:४८ खबर संवाददाता

धनगढीः वर्षेनी हुने नगरसभाबाट पारित भएका अधिकांश योजना कार्यान्वयन गर्न धनगढी उपमहानगरपालिका असफल देखिएको छ। १९ वडा कार्यालय रहेको उपमहानगरपालिका चालू आर्थिक वर्ष सकिनै लाग्दा समेत पक्की नाली निर्माणदेखि सडक कालोपत्रेसम्मका योजना कार्यान्वयन गर्न असफल देखिएको हो। विभिन्न वडामा नाली निर्माण र सडक कालोपत्रेका योजना अधुरै छन्। जसका कारण उपमहानगरपालिकाले आर्थिक वर्ष सकिन एक साता बाँकी रहदा आधा पुँजीगत बजेट पनि खर्च गर्न सकेको छैन। 

धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने भन्दै वडा नम्बर ४ को वडा कार्यालयदेखि दक्षिण हुँदै उत्तरतर्फ १ सय २७ मिटर लामो पक्की नालीसहितको कालोपत्र सडक निर्माणका लागि २३ लाख ६० हजारको योजना प्रस्तुत गर्‍यो। तर आर्थिक वर्ष सकिनै लाग्दा समेत निर्माणले अझै अपेक्षित गति लिन सकेको छैन। 

वडा नम्वर ४ मै टुहुरा तथा अपाङ्ग वन्यजन्तु सुरक्षा गृहमा फुटपाथ निर्माणदेखि शिवपुरीधाम मन्दिर परिषरभित्र सार्वजनिक व्यायमशाला निर्माण कार्यले समेत अझै पूर्णता पाएको छैन। नाली निर्माण र सडक कालोपत्रेको विषयमा अनविज्ञता जनाउँदै वडा नम्वर ४ का वडाध्यक्ष दिपककुमार थापाले वडाले गर्ने प्रायः कामहरु सम्पन्न हुने क्रममा रहेको बताएका छन्। ‘सडक र नाली निर्माण नगरपालिकाले गर्ने भन्ने सुनेका हौँ, निर्माणले अपेक्षित गति भने लिन सकेको छैन’ उनले भने।

धनगढी उपमहानगरपालिका वडा नम्वर ६ मा पनि चालू आर्थिक वर्षभित्रै सम्पन्न गरिसक्नुपर्ने अधिकांश योजनाको काम अझै पुरा हुन सकेको छैन। बासुदेवी माविमा कम्पाउण्ड वाल निर्माणदेखि न्यू उपदेश युवा क्लब खेल मैदान मर्मतका लागि बजेट विनियोजन गरिएको भएपनि बासुदेवी माविको कम्पाउण्डबारे भएको विवादले निर्माण कार्य नै रोकिन पुगेको छ। 

सोही वडामा सडक कालोपत्रेका लागि ८ लाख ८९ हजार रुपैयाँ विनियोजन गरिएको भएपनि आर्थिक वर्ष सकिनै लाग्दा समेत निर्माणले अझै पूर्णता पाउन सकेको छैन। धनगढी उपमहानगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष भागीराम चौधरीले निषेधाज्ञाका कारण निर्माण सामग्री अभाव लगायत कारण योजना निर्माण गर्न समस्या भएको बताए। केही योजना बाँकी रहेको बताउँदै उनले बासुदेबी कम्पाउण्ड निर्माण विवादका कारण अघि बढाउन नसकिएको जानकारी गराए।
चालू आर्थिक वर्षका लागि धनगढी उपमहानगरपालिकाले ११ सय भन्दा बढी विकास निर्माणका योजनाहरु सार्वजनिक गरेको भएपनि धेरै योजनाहरुको अझै निर्माण सुरु भएको छैन। भने, निर्माण सुरु गरिएका अधिकांश योजनाहरु निर्माणाधिन अवस्थामै रहेका छन्। 

उपमहानगरपालिकाले भने ९४ देखि ९६ प्रतिशत योजनाहरुको निर्माण सम्पन्न हुने दाबी गर्दै आएको छ। धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले फिल्डमा धेरै काम भइरसकेकाले भुक्तानी दिने काम अहिले सुरु भएकाले लक्ष्यअनुसार कै वित्तीय प्रगति हुने दाबी गरे। 

सुदूरपश्चिम प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षका लागि धनगढी उपमहानगरपालिकाको कुल पुँजीगत बजेट ८५ करोड ४६ लाख बजेटमध्ये आधा भन्दा कम अर्थात ३६ करोड ९५ लाख ८० हजार मात्र वित्तीय प्रगति भएको पाइएको छ।

कमेन्ट लोड गर्नुस