सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढी पहिरोका कारण नियमित खोप सेवा रोकियो

२०७८ असार २२, ०५:५१ रासस

मनाङ: मनाङमा बाढीपहिरोका कारण बालबालिकालाई लगाइने नियमित खोप सेवा कार्यक्रम प्रभावित भएको छ।

बाढीपहिरोले जिल्लामा आवागमन रोकिएपछि बालबालिकालाई नियमित खोप लगाउन स्वास्थ्य संस्थामा लैजान नसकिएको अवस्था छ। बालबालिकालाई लगाइने खोप अहिले जिल्लाका चार स्थानीय तहमा प्रभावित भएको जनस्वास्थ्य कार्यालयका प्रमुख बद्री आचार्यले जानकारी दिए। उनले भने,

“नियमित खोप बालबालिकाहरुका लागि अत्यावश्यक सेवा अन्तर्गत पर्दछ। बाढीपहिरोले मानवीय स्वास्थ्यमा ठूलो असर पारेको छ। एक ठाउँबाट अर्कोठाउँमा जान सकिरहेको छैन्।

स्वास्थ्यकर्मी पनि बाढीपहिरोका चपेटामा परेका छन्।” बाढीपहिरोका कारण बच्चालाई खोप लगाउनका लागि स्वास्थ्य संस्था जान सकेका छैनन्। खोपका अभावमा बालबालिकामा रोगहरूसँग लड्ने प्रतिरोधात्मक क्षमतामा कमी आउने प्रमुख आचार्यले बताए।

उनका अनुसार जिल्लामा अहिले दादुरा–रुबेला तथा कोभिड–१९ विरुद्ध लगाइने खोप रोकिएको छ। आगामी साउनदेखि बाढीपहिरोले प्रभावित गाउँपालिकामा खोप कार्यक्रम शुरु गर्ने तयारी भएको उहाँले जानकारी दिए।

प्रत्येक वर्ष जन्मेदेखि १५ महिनाभित्रका बालबालिकालाई १२ प्रकारका खोप निःशुल्क लगाउने गरिएको छ।

 

कमेन्ट लोड गर्नुस