सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब अनलाइनबाटै धनगढी उप–महानगरलाई कर बुझाउन सकिने

२०७८ असार २२, ०४:४१ खबर संवाददाता

धनगढी: अब अनलाइन प्रणालीबाटै धनगढी उप–महानगरपालिकालाई कर बुझाउन सकिने भएको छ। उपमहानगरले कर अनलाइन, खल्ती र कनेक्ट आइपीएसमार्फत जुनसुकै ठाउँबाट पनि कर तिर्न सकिने व्यवस्था लागू गरेको हो। 

यो प्रणाली सुदूरपश्चिम प्रदेशमा पहिलोपटक धनगढी उप–महानगरपालिकामा संचालनमा ल्याएको दाबी गरिएको छ। नगरवासीहरुलाई सहताका लागि उक्त प्रणाली ल्याइएको नगर प्रमुख नृपबहादुर वडले बताए। 

आफै उपस्थित भएर उप–महानगरपालिकामा तथा मातहतका वडा कार्यालयहरुका कर बुझाउनुपर्ने अवस्था रहेका बेला अब यो प्रणालीबाट घरमै बसेर करदाताले कर तिर्नसक्ने उपमहानगरले जनाएको छ। जसका लागि उप–महानगरपालिका कार्यालयको कर पोर्टलमा आफ्नो युजर आइडी बनाएर खल्ती तथा वालेट मोबाइल एपमार्फत रकम तिर्न सकिने छ। 

हाल संचालनमा रहेको एकिकृत कर संकलन प्रणाली सफ्टवेयरमा दर्ता भएका करदाताहरुले उप–महानगरपालिकाले सञ्चालनमा ल्याएको पोर्टलमा आफ्नो युजर दर्ता गरी स्वदेश तथा विदेशबाट उक्त कर तिर्नसक्ने नगरपालिकाका सूचना प्रविधि अधिकृत सूर्यप्रकाश उपाध्यायले बताए

 ‘उक्त पोर्टल तथा एपबाट कर तिरेको जानकारी करदाताको मोबाइल तथा ईमेलमा प्राप्त हुनेछ’ उनले भने, ‘सो करदाताले बुझाएको कर रकम उप–महानगरपालिका कार्यालयको बैक खातामा जम्मा हुनेछ।’ 
   

कमेन्ट लोड गर्नुस