सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कोरोनाविरुद्धको खोप लगाउनेको घुइचो, व्यवस्थापन ‘झूर’

२०७८ असार २२, ०३:४७ रोशन भट्ट

धनगढी : धनगढी उपमहानगरपालिका–५ कि मायादेवी विष्ट मंगरवार मध्यान्न १२ बजे चर्को घाममा पञ्चोदय माध्यामिक विद्यालयको प्राङगणमा थिइन्। मध्यान्नको १२ बजेसम्म पालो नपाएको बताउँदै विष्टले भनिन्, ‘कोरोनाको दोस्रो डोज लगाउनका लागि विहान ९ बजेनै खोप केन्द्रमा पुगेको हुँ। अस्तव्यस्त खोप केन्द्रका कारण अहिलेसम्म पालो आएको छैन। सामाजिक दूरी समेत कायम नहुँदा लाइन छोडेर अलग बसेकी छु।’

नगरपालिकाका कर्मचारी तथा चिनजानका व्यक्तिले भने फटाफट खोप लगाइरहेको उनले बताइन्। आम सर्वसाधारण तथा बृद्धबृद्धाहरुले लाइन लाग्दासमेत पालो नपाएको आरोप उनको थियो। उनीसँगै कोरोनाविरुद्धको खोप लगाउनका लागि वडा नम्बर ५ का सयौं स्थानीय खोप केन्द्रमा पुगेका थिए। मंगलवार बिहान १० बजेदेखि खोप कार्यक्रम सुरु हुन्छ भन्ने सूचना पाएका स्थानीय ८ बजेदेखि नै पालो कुरेर बसेका थिए। गत जेठ २५ गतेदेखि पहिलो चरणको भेरोसेल खोप लगाएकाहरुलाई असार २२ र २३ गते दोस्रो चरणको खोप लगाउने अभियान तय भएसँगै खोप केन्द्रमा स्थानीयको घुइचो लाग्न थालेको छ। 

No description available.

उप–महानगरपालिकाकाले नगरवासीलाई खोप लगाउनका लागि १० वटा केन्द्र तोकेको थियो। तर उक्त खोप केन्द्रहरु व्यवस्थित नहँुदा स्थानीयले खोप लगाउन जाँदा पनि सास्ती भोग्नु परेको गुनासो गरेका छन्। उपमहानगरपालिकै उदासिनताका कारण नगरवासीले चर्को घाममा ३ घण्टा लाइन लान्दा पनि पालो नपाइने समस्या रहेको धनगढीका स्थानीय नारायण छत्यालले बताए। ‘धनगढीका सबै खोप केन्द्रको हालत सायद यस्तै छ होला। महिला पुरुषको लाइन पनि अलग बनाइएको छैन,’ उनले भने, ‘कर्मचारी निकटका व्यक्तिलाई मात्रै प्राथमिकतामा राख्दा अन्यलाई समस्या भयो। व्यवस्थापन झूर छ।’ उपमहानगरपालिकाले नै स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा नगरेरै खोप लगाइरहेको उनले बताए। 

No description available.

गत जेठ २५ गतेबाट सुरु भएको ‘भेरोसेल’ लगाउने अभियानमा ६० वर्षभन्दा माथिक जेष्ठ नागरिक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत फ्रन्टलाइनमा खटिनेहरुलाई प्राथमिकतामा राख्नु पर्ने प्रावधान बनाइएको थियो। तर उप–महानगरपालिकाले भने पहिलो चरणकै ‘भेरोसेल’ लगाउँदा बदमासी गरेर सबै उमेर समूहका व्यक्तिलाई खोप लगाउँदा अहिले व्यवस्थापनमा समस्या भएको हो। प्रावधानविपरित ७ हजारभन्दा बढी स्थानीयलाई पहिलो चरणको खोप दिएको उप–महानगरपालिकाले उनीहरुलाइ नै दोस्रो चरणको खोप लगाउनु पर्ने बाध्यता छ। तर प्राथमिकतामा परेकाहरु भने खोप लगाउनबाट बञ्चित भएका छन्। 

यता उपमहानगरपालिकाको स्वास्थ्य शाखाले भने नगरवासीकै कारण खोप केन्द्रलाई व्यवस्थित बनाउन नसकेको जनाएको छ। ‘हामीले आग्रह गर्दा पनि स्थानीयले मानिरहनु भएको छैन,’ उप–महानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख कुम्भराज शर्मामाले भने, ‘संक्रमणको डर भन्दा पनि सबैलाई खोप आवश्यक परेको छ।’ लाइनमा लागेका सबैलाई पालो अनुसार नै खोप लगाइरहेको स्वास्थ्य शाखा प्रमुख शर्माले बताए। निकटका व्यक्तिलाई प्राथमिकतामा राखियो भन्ने गुनासो गलत भएको दावी उनको थियो। तर अव्यवस्थित खोप केन्द्रका कारण संक्रमण बढ्नसक्ने चिन्ता गरिएको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस