सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको स्याउ यही कार्तिकसम्म बजारमा आउँछ: कृषि ज्ञान केन्द्र प्रमुख पन्त

२०७८ असार २२, ०३:३३ खबर संवाददाता

धनगढी: कृषि ज्ञानकेन्द्र दार्चुलाका प्रमुख प्रकाश पन्तसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदम जोशीले कुराकानी गरेका छन्। कार्यक्रमा प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं। 

तपाइँको कृषि ज्ञान केन्द्रसम्मको यात्रा छोटकरी भनिदिनुस न ।
मैले २०६३ सालमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १६ स्थित प्रभात विद्यानिकेतनबाट एसएलसी गरेको पास गरेको थिए भने २०६६ मा रेडियन्ट उच्च माविबाट १२ पास गरेको थिए। २०७१ सालमा कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट स्नातक पास गरेर २०७३ सालमा स्नातकोत्तर सकेको थिए।

केहि समय अध्यापन पनि गरेको थिए र २०७३ सालमा नेपाल सरकारको कर्मचारीको रुपमा सरकारी सेवामा प्रवेश गरेको हुँ। त्यस पछिको ५ वर्ष जति सुदूरपश्चिमका विभिन्न जिल्लाका विभिन्न कार्यालयमा काम गरेको थिए र अहिले दार्चुलाको कृषि ज्ञान केन्द्रमा कार्यालय प्रमुखको रूपमा कार्यरत छु।

दार्चुलामा कृषि क्षेत्रको सम्भावना कस्तो देख्नुहुन्छ ?
दार्चुला भौगोलिक रुपमा उच्च पहाडदेखि मध्य पहाडको भूगोल रहेको जिल्ला हो। यहाँ ९ वटै पालिकामा ओखरको राम्रो सम्भावना रहेको छ। पछिल्लो समयको उत्पादन हेर्ने हो भने पनि सुदूरपश्चिमका अन्य जिल्लाको तुलनामा धेरै नै राम्रो छ। 

त्यसैगरी मौरीपालनको पनि राम्रो सम्भावना छ। दार्चुलाको चिउरीको मह निकै प्रख्यात रहेको र बजारमा राम्रो माग रहेको छ। यसबाट किसानहरु पनि उत्साहित भएको पाएको छु। अहिले स्याउ खेतिलाई पनि जोड दिइरहेका छौं। अपि हिमाल, ब्यास, नौगाड गाउँपालिका केही वडा र मर्मा गाउँपालिकाका केही वडाहरुका किसानहरु यसमा खुबै उत्साहित भएको पाएका छौँ। 

बाह्रयबाट ल्याएको उन्नत किसिमको स्याउको खेती गर्न किसान उत्साहित भएपछि दार्चुलाको स्याउ यहीँ वर्षदेखि बजारमा आउने तयारीमा छ। पहिला पनि रैथाने स्याउहरुको सामान्य रुपमा उत्पादन हुने गथ्र्याे र भारतको बजारमा जान्थ्यो। तर अहिले हामीले नेपाली बजारमा  ल्याउने हेतुले नै उन्नत जातका स्याउलाइ प्रवद्र्धन गर्दै आएका छांै र छिट्टै कार्तिक मंसिरतिर बजारमा आउँछ।

स्याउ उत्पादनको मौसम अनि अवधि कस्तो हुन्छ ?
स्याउ असोजदेखि नै पाक्न सुरु हुन्छ। तर दार्चुलाको सवालमा भने भौगोलिक उचाईका कारण कार्तिक सम्ममा बजारमा ल्याउन मिल्छ। हामी जति उच्चो ठाउँमा जान्छौं त्यति नै यो ढिलो बजारमा ल्याउन सकिने हुन्छ। असोजदेखि माघसम्म फ्रेस स्याउनै बजारमा आउँछ र त्यसपछि पनि बजारमा स्याउ त आउँछ तर कोल्ड स्टोरमा राखेको स्याउ हुन्छ।

दार्चुलाको कति जति स्याउ बजारमा आउने अनुमान छ ? 
अहिले दार्चुलाको स्याउ बजारमा ल्याउन प्याकेजिङ्ग म्यट्रिएलको विषयमा पहिलो चरणको छलफल गरेर सकाएको छु। व्यासमा उत्पादन भएको स्याउ अहिले हामीले भारतको बाटोबाट ल्याउनु पर्ने स्थिति छ। सबै पालिकाका स्याउ उत्पादनका लागि किसानसँग छलफलमा छौ कि कसरी स्याउलाई बजारमा लैजाने। अनुदान दिएर हुन्छ कि के गरेर हुन्छ नयाँ आर्थिक वर्षदेखिनै नै काम सुरु गर्दैछौ। अनि राम्रो ग्रेडिङ गरेर लेबलिङ गरेर बजारमा ल्याउने तयारी छ।

दार्चुलामा औपचारिक रुपमा कति फार्म स्याउ उत्पादनका लागि काम गरिरहेका छन् ?
हाम्रो कार्यालयबाट सहयोग प्राप्त गरेर सञ्चालन भएका आठ वटा फार्म र प्रदेश अनि प्रधानमन्त्री कृषि कार्यक्रमबाट अनुदान प्राप्त गरेर सञ्चालनमा आएका केही फार्म गरी लगभग साना ठुलो १५ जति फार्म जिल्ला भरिमा उत्पादन गरिरहेका छन्। 

एउटा स्याउको बोटबाट राम्रो फल्यो भने कति जति स्याउ फल्ने हुन्छ ?
त्यो जातअनुसार फरक पर्ने कुरा हो। औषतमा ५ वर्षपछि एउटा स्याउको बोटले उत्पादन राम्रो दिने हुन्छ र १५÷२० केजीसम्म उत्पादन दियो भने राम्रो नै मान्नुपर्छ तर स्थानीय जातको फेरि आकार नै ठुलो हुने भएकाले ३०÷३५ केजी सम्म उत्पादन दिने गर्छ। र स्याउको उमेरको कुरा गर्दा स्थानीय स्याउ २५ देखि ३० वर्षसम्म उत्पादन दिने गर्दछ भने उन्नत जातको स्याउले १५ देखि २० वर्षसम्म न उत्पादन दिने गर्दछ।

कृषि ज्ञान केन्द्रले कृषकहरुलाई सहयोग गर्न कसरी काम गर्छ ?
प्रायजसो हाम्रा कार्यक्रम समूह, सहकारीलाई केन्द्रित गरेर बनाईन्छन्। छुटफुटलाई भन्दा पनि हामी सामुहिक रूपमा काम गर्ने मानिसहरुलाई प्रोत्साहन गर्नको लागि अनुदान दिने गर्छौ। फलफूलको बोटबिरुवा लगाउने सवालमा पनि हामी ५० वटा भन्दा कम लगाउनेलाई पनि बढी लगाउनुस भनेर र नै सुझाव र सहयोग गर्छौ। 

यसको खास कारण के पनि हो भने व्यवसायिकरण गर्नको लागि सामूहिक उत्पादनले सहयोग पुर्याउछ र यो वातावरण निर्माण हुनुपर्छ भन्ने हो। एक दुई वटा बोट घरकै लागि भनेर हामी बाड्दैनौ। समूहमा मिल्नुस र सामुहिक रुपमा खेती गर्नुस् भनेर प्रोत्साहन गर्छौ।

कमेन्ट लोड गर्नुस