सुदूर नेपाललाई विश्वसँग जोड्दै

अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा

२०७८ असार २१, ०८:२१ रासस

राप्ती: राप्ती नगरपालिकामा स्थानीयवासीले गरेको पूर्व–पश्चिम राजमार्गको अवरोध खुल्ला भएको छ।

जिल्लाको राप्ती नगरपालिका—३ का २३ वर्षीया सुजिता भण्डारीको शव जङ्गलमा फेला परेपछि स्थानीयवासीले निष्पक्ष छानविनको माग गर्र्दै राजमार्ग अवरुद्ध गरेका थिए। बिहान १०ः१५ बजेदेखि अवरुद्ध सडक साँझ ६ बजे खुलेको हो।

स्थानीयवासीले शव ल्याउँदै गरेको एम्बुलेन्ससमेत रोकेर राखेका थिए। राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालका अनुसार जनप्रतिनिधि, दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा पीडित पक्षसँग सहमति गरी बाटो खुलाइएको छ।

शवको पोष्टमार्टम गरेर सत्य तथ्य पत्ता लगाई अपराधीलाई कडाभन्दा कडा कारवाही गर्ने, शवको पोष्टमार्टम गर्दा परिवारका दुई र परिवारले भनेका एक जना विज्ञको सहभागिता रहने तथा नेपाल सरकारसँग राहतका लागि अनुरोध गर्ने सहमति भएको प्रमुख बरालले जानकारी दिए।

आइतबार साँझ स्थानीय ब्रम्हस्थानी सामुदायिक वनमा भण्डारीको शव फेला परेको थियो। उनी असार ११ गतेदेखि हराइरहेकी थिईन्। यही असार ११ गते बिहान ६ बजे घरबाट हिडेकी भण्डारी सोही दिनदेखि वेपत्ता भएकी थिइन्। उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन्। जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव गलेको अवस्थामा फेला परेकोे छ। वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस