सुदूर नेपाललाई विश्वसँग जोड्दै

तनहुँका अधिकांश ग्रामीण सडक अवरुद्ध

२०७८ असार २१, ०६:५१ रासस

तनहुँ: गत मङ्गलबारदेखि परेको वर्षाका कारण तनहुँका अधिकांश स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भएका छन्।  पृथ्वीराजमार्गस्थित मुख्य सडक पुनःसञ्चालन भए पनि ग्रामीण भेगका सडक  सञ्चालन हुन सकेका छैनन्। 

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार पहिराले अवरुद्ध भएका ग्रामीण सडक पुनःसञ्चालन गराउन प्रयास भइरहेको छ। बाढीपहिराले कतिपय ठाउँमा सडक भासिएको छ। त्यस्ता ठाउँमा सडक वारपार गर्न समस्या भएको छ । कतिपय ठाउँमा भने पैदलयात्रीसमेत हिँड्न नमिल्ने गरी पहिरो खसेको छ। 

शुक्लागण्डकी नगरपालिकाले ग्रामीण भेगका अवरुद्ध सडक खुलाउन शुरु गरेको छ। तनहुँ र स्याङ्जा जोड्ने ढोरबाराही मोटरमार्गको पहिरो हटाएर सडक सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए। “मान्द्रेदेखि छाब्दीखण्डमा पहिराको जोखिम कायमै छ, त्यहाँ सडकको ट्रयाक नै नरहने गरी क्षति पुगेको छ”, उनले भने। 

शुक्लागण्डकीअन्तर्गत दुलेगौँडा–हर्कपुर, लालध्वज, दुलेगौँडा फिरफिरे, ढोरबाराही लगायतका मुख्य मार्गमा पहिराले क्षति पुगेको छ। ग्रामीण भेगका सडक खुलाउन समस्या परेको सुवेदीले बताए। 

घिरिङ गाउँपालिकाका ग्रामीण सडक पनि पहिराले अवरुद्ध छन्। पहिरो हटाएर मुख्य मुख्य सडक सञ्चालन गर्न शुरु गरिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिए। “वर्षा रोकिएको छैन, अहिले हटायो फेरि पहिरो खस्छ”, उहाँले भन्नुभयो, “तत्काल आवश्यक सडकको मात्र पहिरो हटाउन शुरु गरेका छौ।”

बन्दीपुर गाउँपालिकाका पनि ग्रामीण सडक अवरुद्ध छन्। मुख्य सडक डुम्रे–बन्दीपुरको आंशिक खण्ड सञ्चालनमा आए पनि ग्रामीण सडक खुलाउन केही समय लाग्ने उपाध्यक्ष करुणा गुरुङले बताए। उनका अनुसार यहाँका मुख्य डुम्रे–बन्दीपुर, बन्दीपुर–ढाँडखोला, बन्दीपुर–धरमपानीलगायतका सडक अवरुद्ध छन्।

जिल्लाका दश वटै पालिका बाढीपहिरोबाट प्रभावित छन्। सबै पालिकामा ग्रामीण सडक अवरुद्ध हुँदा सर्वसाधरण मारमा परेका छन्। बाढीले व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दीखोलास्थित पुल भत्किएपछि दक्षिणी भेगसम्मको पहुँच टुटेको छ।

बुद्धसिं मार्गअन्तर्गत निर्मित पुल भत्किएपछि किसानले उत्पादन गरेका कृषि उपज दमौली ल्याएर बिक्री गर्न सास्ती भएको छ। ग्रामीण भेगमा दैनिक उपभोग्य वस्तु ढुवानी हुन सकेको छैन्। यही पुल हुँदै व्यास–१३ को बेलवास, पोखरीभञ्ज्याङ, व्यास–१४ को केशवटार, सुढे, ऋषिङको हुस्लाङ, गुम्लेक, देवघाट, आँबुखैरेनी, बन्दीपुर लगायतका ग्रामीण भेगका बासिन्दा आवतजावत गर्दथे। 
 

कमेन्ट लोड गर्नुस