सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा काम गरेर वाक्क भएपछि कैलालीका दिलबहादुर गाउँमै व्यवसायीक माछापालन गर्दै

२०७८ असार २१, ०४:२७ विन्दु चन्द

धनगढीः विगत १० वर्षदेखि भारतमा काम गर्दै आएका दिलबहादुर गत वर्ष कोरोना माहामारीकै बेला घर फर्केका थिए। कैलालीको गोदावरी नगरपालिका-४ बस्ने उनलाई कोरोना कहरमा घर फर्कि‌दा पाएको दुःख आजसम्म याद छ।

‘अर्काको देश, अर्काको जागीर बडो मुस्किल हुन्छ। समयमा तलब पाइँदैन पेलिएर काम गर्नुपर्ने’ उनले भने, ‘१० वर्ष जति भयो मैले भारतमा काम गरेको। जसोतसो काम गरिहेकै थिए कोरोना माहामारीले विपत्तिमा पार्‍याे।’ 

सीमानाका बन्द भएका कारण उनी ३ महिना जति भारतमै फसेका थिए। ‘लकडाउनले होटेल, कम्पनीहरु सबै बन्द भए। हामीले काम गर्ने ठाउँ पनि बन्द भयो। एक महिना त जसो तसो काट्यौँ। कम्पनीले नै व्यहोर्‍याे। त्यसपछि त डामाडोल स्थिती नै आयो।’

त्यँहा बस्दा धेरैदिन भोको बस्नुपरेको दुःखेसो उनले सुनाए। ‘कति दिन भोकै बस्यौँ। गर्मीको समयमा लाम्खुट्टेले उस्तै टोक्थे। बाहिर हिँडे पुलीसले लखेट्ने भित्रभित्रै पाकिसकेका थियौँ’ उनी भन्छन्, ‘घर को धेरै याद आउँथ्यो। यस्तो लाग्थ्यो अब हामी यत्तिकै रहन्छौँ। घर पुगिन्छ कि पुगिन्न।’

त्यतिबेला धरै नेपालीहरु हिँडेरै फर्किएको  खड्का बताउँछन्। तर उनी भने नाका खुलेपछि मात्रै कैलाली भित्र्एिका थिए। 

भारतबाट फर्केपछि २ महिना उनी खालि बसे।  तर लकडाउन लम्बिँदै गएपछि उनले गाउँमै केही गर्ने सोच बनाए। आफ्नै खेतमा सानो पोखरी निर्माण गरेर माछा पाल्ने सोच बनाएको उनी बताउँछन्। 

त्यसपछि ४ लाखको लगानीमा दिलबहादुरले व्यवसायीक माछा पालन सुरु गरे। ‘सानै भएपनि यो काममा हात हालिसके। अब सायद जागीर गर्न कहिँ जाँदैन’ उनी भन्छन्, ‘राम्रो नराम्रो जे भएपनि गाउँमै ठिक छ। परिवार छ, आफन्त छन्। दुःख पर्दा सोधपुछ त गर्लान। अर्काको देशमा त आफ्ना पनि पराई हुँदा रहेछन्।’

कोरोना महामारीपछि लक्षित वर्गका लागि सरकारले विभिन्न कृषि अनुदानका कार्यक्रमहरु ल्याएको थियो। तर उनले भने एक सुको पनि पाएनन्। ‘अनुदानका लागि गइयो तर पाइएन। अनुदान त आफन्त र आसेपासेलाई मात्रै दिँदा रहेछन्। पहुँच हुनुपर्दो रहेछ’ उनले दुखेसो गरे। 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस