सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल प्रहरीलाई सेनाको १० हजार हतियार हस्तान्तरण

२०७८ असार २१, ०१:२२ खबर संवाददाता

काठमाडौंः नेपाली सेनाले नेपाल प्रहरीलाई १० हजार हतियार हस्तान्तरण गरेको छ। सोमबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक आईजीपी शैलेश थापा क्षेत्रीलाई हतियार हस्तान्तरण गरेका हुन्।

सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले नेपाल प्रहरीलाई हतियार, एम्युनिशन तथा सम्बद्ध सामग्री हस्तान्तरण गरेको जानकारी दिए। हस्तान्तरण गरिएका हतियारमा इन्सास राइफल, एसएलआरलगायत छन्। प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक क्षेत्रीलाई ३०० नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामाग्रीहरु हस्तान्तरण गरेका हुन्।

नेपाल प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठुला कार्यक्रमहरु संचालन गर्ने प्रयोजनका लागि हस्तान्तरण गरिएको सेनाले जनाएको छ। गत जेठ १७ गत बसेको मन्त्रिपरिषद बैठकले सेनाले निःशुल्क रुपमा नेपाल प्रहरीलाई उक्त हतियार दिने निर्णय गरेको थियो।

निर्णय बमोजिम नेपाली सेनाले कुनै पनि मूल्य नलिइ मा विभिन्न प्रकारका राइफल र मेशिन गनहरु गरि जम्मा १० हजार ८ सय १८ नाल र सोको एम्युनिशन गोटा १४ लाख ९४ हजार १६ उपलव्ध गराउने प्रवक्ता पौडेलले जानकारी दिए।

उक्त हतियार तथा एम्युनिशन तीन चरणमा उपलव्ध गराउने योजना अनुसार बाँकी हतियार तथा एम्युनिशन २०७९ साल बैशाख महिनासम्ममा हस्तान्तरण गरिने छ । उपलव्ध गराईएका हतियारहरुको मर्मत तथा प्रयोगको तालिम समेत नेपाल प्रहरीलाई प्रदान गर्ने योजना रहेको उनले बताए।

कमेन्ट लोड गर्नुस